सभामुखमा घिमिरे र न्यौपाने भिड्दै, कसले मार्ला बाजी ? यस्तो छ संसदको अंकगणित

सभामुखमा घिमिरे र न्यौपाने भिड्दै, कसले मार्ला बाजी ? यस्तो छ संसदको अंकगणित


काठमाडौँ । प्रतिनिधिसभाका सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजेदेखि मतदान हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सभामुखका लागि गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेसका ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन् । घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला र कांग्रेस सांसद रमेश लेखक छन् ।

आजको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने कार्यतालिका छ । त्यसलगत्तै उम्मेदवारीको सूचनामाथिको सामूहिकरूपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गरिनेछ ।

इश्वरी न्यौपाने कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र जनमत पार्टीको साझा उम्मेदवार हुन्। उनी कांग्रेसकी मनोनीत सांसद हुन्।

अहिलेसम्मको संसदको अंक गणित हेर्दा एमालेका घिमिरे अगाडि छन्।

सत्ता साझेदार दलका साझा उम्मेदवारका रुपमा बुधबार ४ माघमा सभामुखको उम्मेदवारी दिएका घिमिरेको पक्षमा एमाले ७८, नेकपा माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०, राप्रपा १४ गरी १४४ छन्।

यस्तै उनको प्रतिस्पर्धी उम्मेदवार बनेकी न्यौपानेलाई कांग्रेस ८९, जसपा १२, एकीकृत समाजवादी पार्टी १०, लोसपा ४, मत निश्चित छ। जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले मत कसलाई दिने भन्ने निर्णय गरेका छैनन्। यी दुई दलको १० सांसद छन्। यस्तै स्वतन्त्र २ सांसद पनि छन्। यी सबैले कांग्रेसकै उम्मेदवार न्यौपानेलाई मत दिए १२५ मत प्राप्त गर्छन्। सभामुखको चुनाव जित्न १३८ मत पाउनुपर्छ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गरिने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्ने प्रावधान छ ।