पोखरा विमान दुर्घटना अपडेटः तीन जनाको जीवितै उद्धार

पोखरा विमान दुर्घटना अपडेटः तीन जनाको जीवितै उद्धार


काठमाडौँ ।

काठमाडौंबाट पोखराका लागि उडेको यति विमानको दुर्घटनाग्रस्त जहाजबाट तीन जनाको जीवितै उद्धार गरिएको छ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तीनजनाको जीवितै उद्धार गरिएको बताए । उनले भने, उद्धारपछि अस्पताल पठाएका छौँ । पहिचान खुलेको छैन । स्वास्थ्य अवस्थाबारे भन्न सकिन्न ।”

जहाजमा लागेको आगो अझै नियन्त्रणमा नआएको उनले बताए । हालसम्म घटनास्थलबाट ३५ जनाको शव संकलन गरिएको छ ।

आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यतीको जहाज दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।