माघ १, काठमाडौँ ।
जमिनमुनि शक्ति सञ्चय हुनेक्रम बढेसँगै उपत्यकामा ठूलो भूकम्प जाने खतरा पनि बढेको छ ।
२०७२ सालको गोरखा भूकम्पका क्रममा जमिनमुनि उत्पन्न सबै शक्ति बाहिर नगई काठमाडौँको जमिनमुनि आएर अड्किएपछि शक्ति सञ्चयको क्रम जारी रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
२०७२ सालको भूकम्पका क्रममा युरासियन भौगर्भिक प्लेट सर्दा उत्पन्न भएको ऊर्जा गोरखाको जमिनमुनिबाट दोलखा–रामेछाप हुँदै उत्तरबाट दक्षिणतर्फ चिप्लिएर काठमाडौँको जमिनमुनि आइपुगेको केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताए ।
‘काठमाडौँ उपत्यकादेखि तराईको जमिनमुनि जम्मा भएको भूकम्पीय शक्ति चिप्लिएन । त्यस्तो शक्ति तराई हुँदै बाहिर ननिस्केसम्म काठमाडौँमा अर्को ठूलो भूकम्पको जोखिम उच्च बनेको हो,’ उनले भने ।
त्यसरी जमिनमुनि जम्मा भएको भूकम्पीय ऊर्जाको शक्ति भूकम्प आएपछि नै जान सम्भव हुन्छ । तर कहिले जान्छ भन्ने कुराको पूर्वानुमान गर्न नसकिने अधिकारीले बताउनुभयो । उहाँका अनुसार जति ढिलो भयो, त्यति ठूलो भूकम्प जाने सम्भावना रहेको समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
नेपालको उत्तरी क्षेत्रको गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पको शक्ति पूर्वमा दोलखासम्म आएको केन्द्रको तथ्याङ्क विश्लेषणले बताउँछ । त्यसको असर काठमाडौँमा पनि प–यो तर काठमाडौँदेखि दक्षिणतर्फको करिब ७० किलोमिटर तराई छुने भू–भागभित्र भूकम्पीय शक्ति गोरखा भूकम्पले बाहिर निकाल्न सकेन र त्यसैले अर्को ठूलो भूकम्पको जोखिम बढेको गोरखा भूकम्पपछि भएका धेरै अध्ययन तथा विश्लेषणपत्रले देखाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया