डिसेम्बर २१ भित्र क्वान्टसका १० हजार कर्मचारी काममा फर्कदै !

डिसेम्बर २१ भित्र क्वान्टसका १० हजार कर्मचारी काममा फर्कदै !


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको राष्ट्रिय ध्वजाबाहक क्वान्टसले आगामी नोभेम्बर डिसेम्बर २१ बाट अन्तर्राष्ट्रिय उडान सुरु गर्दैछ । न्यूसाउथवेल्स राज्यले आफ्नो सिमाना अन्तर्राष्ट्रिय यात्राका लागि नोभेम्बर १ तारिखबाट खुला गरेपछि क्वान्टसले यसअघि निर्धारित समय अघि नै अन्तर्राष्ट्रिय उडानका केही गन्तव्यहरुमा काम सुरु गर्नका लागि आफ्ना १० हजार कर्मचारीलाई फिर्ता बोलाएको छ । क्वान्टसले दिल्ली, सिंगापुर, फिजी, जोहान्सवर्ग, बैंकक र फुकेटमा पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारी छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलान जोयसले आगामी नोभेम्बर १ तारिखमा सिड्नीबाट ब्रिसबेन हुँदै लण्डनसम्मको यात्रा तय गर्ने निश्चित भइसकेको जानकारी दिए । उनले यो सबैका लागि सुखद समाचार भएको टिप्पणी गरेका छन् ।

उनले गएको २० महिनालाई क्वान्टसको सय वर्षको ईतिहासमा सबैभन्दा कालो समय भनेर व्याख्या गरेका छन् । सन् २०२० को मार्च महिनादेखि क्वान्टसले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको थियो । यसक्रममा ११ हजारभन्दा बढी कर्मचारीले रोजगारी गुमाएका थिए । जसमा ५ हजार आन्तरिक उडानमा सहभागी कर्मचारी थिए भने बाँकी अन्तर्राष्ट्रिय उडान क्षेत्रका कर्मचारी पर्दथे ।

सुरुवातमा अन्तर्राष्ट्रिय उडानहरु अष्ट्रेलियाको पीआरधारी, नागरिकहरु र तिनका अभिभावकहरुको लागि मात्रै हुनेछ । तर, प्रधानमन्त्री स्कट मोरिसनले छिट्टै नै विद्यार्थी र अन्तर्राष्ट्रिय व्यवसायीहरुको लागि पनि ढोका खोल्ने संकेत गरेका छन् ।