ब्रिसबेन, अष्ट्रेलिया ।
नेपालमा लामो समयसम्म पत्रकारिता गर्नुभएका तनहुँका पुराना पत्रकार मुक्तिनाथ खनाललाई अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनले स्वागत गरेको छ । एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, संरक्षक हेमन्त काफ्ले, सल्लाहकार डा। भरतराज पौडेल, एन्जा प्रवक्ता तक्दीर अधिकारीको उपस्थितिमा खनाललाई दोसल्ला ओढाएर अध्यक्ष देवकोटाले स्वागत गर्नुभएको हो ।
उक्त अवसरमा बोल्दै संरक्षक काफ्लेले लामो समयसम्म पत्रकारिता गर्नुभएका खनालको अष्ट्रेलिया बसाई सफल होस् भन्ने कामना गर्दै उहाँबाट सिक्नेकुराहरु नयाँ पुस्ताले लिनसक्नुपर्ने बताएका थिए । यस्तै अध्यक्ष देवकोटाले एन्जाको स्थापना नै पत्रकारहरुलाई एकताबद्ध गर्ने, उनीहरुको खुशी, दुखमा साथ दिने भएकोले नेपालको विभिन्न परिवर्तनमा समेत पत्रकारिताको माध्यमबाट भूमिका निर्वाह गर्नुभएका खनाललाई आफुहरुमाझ पाउनु खुशीको कुरा भएको बताएका थिए ।
यस्तै डा. पौडेलले नेपाल पत्रकार महासंघ तनहुँ जिल्ला सभापतिको रुपमा सन् १९९२ र १९९८ मा दुई कार्यकाल हाँक्नुभएका पत्रकार खनाललाई महासंघले स्वतन्त्रता सेनानीका रुपमा समेत सम्मान गरेको स्मरण गराएका थिए । ८५ वर्षको उमेरमा पनि लेखनमा अझै सक्रिय खनालका लेखहरु समेटिएको पुस्तक पनि प्रकाशित भइसकेको छ ।
कार्यक्रममा बोल्दै पत्रकार खनालले विदेशी भूमिमा आएर पनि आफुलाई यस किसिमको न्यानो आतिथ्यता पाउँदा खुशी लागेको बताएका थिए भने एन्जाले आगामी दिनमा अझ बढी प्रगति गर्न सकोस् भन्ने कामना गरेका थिए ।
प्रतिक्रिया