टार्नेइटको सडकमा नेपाली अभिभावक महिलाको रहस्यमय मृत्यु

टार्नेइटको सडकमा नेपाली अभिभावक महिलाको रहस्यमय मृत्यु



मेलबर्न, अस्ट्रेलिया। भिक्टोरियाको टार्नेइटमा मंगलबार बिहान एक नेपाली अभिभावक महिलाको शव फेला परेपछि अस्ट्रेलियामा रहेका नेपाली समुदाय शोकमा परेको छ। उनी आफ्नो परिवारलाई भेट्न नेपालबाट अस्ट्रेलिया आएको बताइएको छ। मृतक महिलाको नाम भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

भिक्टोरिया प्रहरीको मेजर कोलिजन इन्भेस्टिगेसन युनिटका अनुसार बिहान ६ बजेअघि लेक्स रोड र डेरिमट रोडको चोकनजिकै एक पैदलयात्रीले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानमा महिलालाई कुनै सवारीसाधनले ठक्कर दिएको र त्यसपछि चालक घटनास्थलबाट फरार भएको आशङ्का गरिएको छ। घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

घटनाले मेलबर्नमा बसोबास गर्ने नेपाली समुदायलाई स्तब्ध बनाएको छ। परिवारसँग भेटघाटका लागि अस्ट्रेलिया आएकी नेपाली महिलाको यसरी ज्यान गएको घटनाले समुदायमा दुःख र चिन्ता थपिएको छ। मृतकको पहिचान र परिवारसम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

प्रहरीले घटनाको समयमा लेक्स रोड र डेरिमट रोड हुँदै यात्रा गरेका चालकहरूलाई आफ्नो सवारीसाधनको ड्यासक्याम फुटेज जाँच गर्न आग्रह गरेको छ। महिलालाई सडकमा हिँडिरहेको अवस्थामा वा घटनामा संलग्न हुन सक्ने सवारीसाधनको दृश्य कुनै सवारीसाधनको क्यामेरामा कैद भएको हुन सक्ने प्रहरीको विश्वास छ।

घटनास्थलमा मेजर कोलिजन इन्भेस्टिगेसन युनिटका अनुसन्धान अधिकारीहरूले दिनभरजसो अनुसन्धान तथा प्रमाण सङ्कलन गर्ने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे जानकारी हुने वा सम्बन्धित समयमा उक्त क्षेत्रमा यात्रा गरेका व्यक्तिहरूलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।