नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि परिवारका सदस्य, आफन्त तथा शुभचिन्तकहरूबीच टीका र जमरा लगाउने तथा आशीर्वाद आदानप्रदान गर्ने परम्पराले निरन्तरता पाएको छ।
नवदुर्गाको प्रसादका रूपमा रातो टीका र जमरा ग्रहण गर्दै मान्यजनबाट सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको आशीर्वाद लिने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ।
घटस्थापनादेखि नौ दिनसम्म दुर्गा भवानीको विशेष पूजा–आराधना गरी दशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहने धार्मिक मान्यता छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विजयादशमीका दिन टीका लगाउन नपाएका श्रद्धालुहरूले कोजाग्रत पूर्णिमासम्म आफ्ना मान्यजन तथा आफन्तकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्न सक्छन्।
दसैँ केवल धार्मिक आस्था र परम्परामा सीमित नभई पारिवारिक एकता, आत्मीयता र पुनर्मिलनको महत्वपूर्ण अवसरसमेत हो। विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न कारणले टाढा रहेका परिवारका सदस्यहरूलाई एकै ठाउँमा भेला गराउने पर्वका रूपमा दसैँको विशेष महत्व छ।
नेपालसँगै अस्ट्रेलियालगायत विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली समुदायले पनि आफ्नो समय र अनुकूलताअनुसार टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्दै बडादसैँ मनाइरहेका छन्।

प्रतिक्रिया