आफ्नै परिसरमा पहिलो पटक छठ पर्व मनाउँदै भिक्टोरियाका नेपाली

आफ्नै परिसरमा पहिलो पटक छठ पर्व मनाउँदै भिक्टोरियाका नेपाली


मेलबर्न, अष्ट्रेलिया ।

भिक्टोरियामा रहेको नेपाली समूदायले यस पटक छठ पर्व आफ्नै परिसरमा मनाउने भएका छन् । मधेशी कम्युनिटी भिक्टोरियाको आयोजनामा हरेक वर्ष छठ कोबर्ग लेक पार्कमा मनाउने गरिएकोमा यस पटकदेखि अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको करिब १ सय १९ रोपनी क्षेत्रफलमा फैलिएको परिसरमा अवस्थित पोखरीमा यस वर्षको छठ पर्व मनाउन लागिएको हो ।

छठ पर्व अन्तर्गत अक्टोबर ३० तारिख आईतबार साँझ साढे ५ बजेदेखि साढे सात बजेसम्म अस्ताउँदो सूर्यलाई अर्घ दिई पूजा गर्ने कार्यक्रम रहेको र सोमबार ३१ अक्टोबरमा विहान साढे पाँच बजेदेखि साढे सात बजेसम्म उदाउँदो सूर्यलाई अर्घ दिई छठ समापन गरिनेछ जानकारी संस्थाका सभापति डा. सुरेन्द्र रौनियारले दिएका छन् ।

१०० डंकन्स लेन डिगर्स रेष्टमा हुने कार्यक्रममा सहभागिताका लागि समेत रौनियारले आह्वान गरेका छन् ।

नेपालको तराई मधेश क्षेत्रमा र भारतका विभिन्न राज्यमा छठ पर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ । अष्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने मधेशी समूदायले छठलाई विशेष धुमधामका साथ मनाउने गरेका छन् ।