भिक्टोरिया सरकारले दियो नेप्लीज कम्युनिटी सेन्टरलाई ३ लाख डलरको अनुदान

भिक्टोरिया सरकारले दियो नेप्लीज कम्युनिटी सेन्टरलाई ३ लाख डलरको अनुदान

१ सय २० रोपनी जग्गा किनेको भिक्टोरियाको समूदायलाई तिहारमा आयो खुशीको खबर



मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नमा बन्न लागेको अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरलाई ३ लाख ९ हजार डलरको ईन्फ्रास्ट्रक्चर ग्रान्ट स्वीकृत गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै कम्युनिटी सेन्टरले करसहित ३ लाख ९ हजार डलरको अनुदान स्वीकृत भएको जानकारी दिएको हो । पाँच लाख डलर बराबरको अनुदानमध्ये नेपाली समूदायले जतिको अनुदानका लागि आवेदन दिने हो त्यति नै रकम संस्थासँग हुनुपर्ने भएकोले बहुसांस्कृतिक केन्द्रबाट माग भएको २ लाख ८१ हजार अनुदानका आग्रह गरिएको थियो ।

पत्रकार सम्मेलनमा भिक्टोरियाको नेपाली समूदायका अगुवाहरु उपस्थित थिए भने संस्थाका अध्यक्ष राजेश आचार्यले पछिल्लो प्रगतिबारे जानकारी गराएका थिए । आचार्यले भने, “अनुदान रकम ५ लाख डलरसम्मको थियो । तर, पाँच लाखको लागि आवेदन दिने भए त्यसमा पाँच लाख हाम्रो कम्युनिटीले हाल्नुपर्ने थियो । त्यसैले हामीसँग अहिले मौज्दात रहेको २ लाख ८१ हजार हामीले ग्रन्टको लागि एप्लाई गरेको थियौं । वर्तमान बहुसांस्कृतिक मन्त्री रोस स्पेन्सले शुक्रबार चिठ्ठी पठाएर यस सम्बन्धी जानकारी दिनुभयो । यही कुरा समूदायका सबैलाई बताउनका लागि हामीले यो पत्रकार सम्मेलन गरेका हौं । अहिले आवासीय भवनको रुपमा रहेको घरलाई पब्लिक बिल्डिंग गर्नुपर्नेछ । ६ महिनाको अवधिभित्र यो काम सकाएर त्यसको रिपोर्ट पनि पठाउनुपर्ने हुन्छ । यस अवसरमा म सबैलाई धन्यवाद दिन चाहन्छु । सदस्यहरु जसले जग बनाउने बेलादेखि यसमा विश्वास गर्नुभयो । समूदायका लिडरहरु जसले हरेक पाईलामा साथ दिनुभयो । सबैलाई धन्यवाद भन्छु ।”

अनुदानका लागि आवेदन दिँदा भिक्टोरियामा रहेका विभिन्न नेपाली सामूदायिक संघसंस्थाहरु न्याभ, एनआरएन, कन्सुलेट, दिदीबहिनी समाज, मधेशी कम्युनिटी भिक्टोरिया सहित दर्जनौंले यो परियोजनाको लागि सपोर्ट लेटर उपलब्ध गराएका थिए ।

जुम मार्फत बहुसांस्कृतिक केन्द्रले आयोजना गरेको जुम पत्रकार सम्मेलन । (बायाँ) भिक्टोरियाकी बहुसांस्कृतिक मन्त्री रोस स्पेन्स

पत्रकार सम्मेलनमा बोल्दै अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका सचिव एवं अनुदान कमिटी संयोजक गणेश अधिकारीले भने, “टिमको प्रयासले यो सबै सफल भयो भन्न चाहन्छु । अरु कम्युनिटीले ग्रान्ट पाइरहेका छन् । हामीले किन नपाउने ? हामीले झन यति धेरै गतिविधि गरेका छौं यतिधेरै अगाडि बढिसकेका छौं भने हामीले पनि यसका प्रावधानहरु पूरा गर्नेछौं भनेर नै लागेका थियौं । यो सफल भयो हामी सबैलाई बधाई छ ।”

बहुसांस्कृतिक केन्द्रले अहिले रहेको भवन भित्रको पर्खालहरु भत्काएर त्यहाँ एउटा भगवान बुद्धको मूर्तिसहित प्रार्थना कक्ष र अर्को हिन्दू मन्दिरका रुपमा प्रयोग गर्ने तथा सँगै एउटा मेडिटेसन हल र कार्यालय रहनेगरी मर्मत गर्ने योजना बनाएको छ । यस अन्तर्गत हातामा २ सय जनासम्म व्यक्तिहरुले एकैपटक प्रयोग गर्नसक्ने शौचालय समेत बनाउने योजना छ । हाल स्वीकृत अनुदान अन्तर्गत यी सबै कामहरु ६ महिनाभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

बहुसांस्कृतिक केन्द्रमा गएको दशैंमा विविध सांस्कृतिक कार्यक्रमसहित जमरा राखिएको थियो भने आउँदै गरेको छठ कार्यक्रम पनि यही गर्ने तयारी भएको छ ।