दूतावास अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीको अभिभावक संस्था : राजदूत पोखरेल

दूतावास अष्ट्रेलियामा बसोबास गर्ने सबै नेपालीको अभिभावक संस्था : राजदूत पोखरेल


मेलबर्न, अष्ट्रेलिया ।
अष्टे्रलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले नेपाली दूतावास अष्ट्रेलियामा रहेका सबै नेपालीको अभिभावक संस्था भएकोले यसलाई कुनैपनि राजनीतिक आँखाले, जातीगत रुपमा या क्षेत्रगत हिसाबले नहेर्न आग्रह गरेका छन् । उनले भने, “कुनै वाद, विचार या राजनीतिक आस्थाका आधारमा तान्ने कोसिस नगर्नुस् मेरो अनुरोध छ । अष्ट्रेलियामा रहेका सबै जात जाति, धर्म संस्कृति अंगाल्ने नेपालीको अभिभावक दूतावास हो ।”

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अवस्थित अवैतनिक महावाणिज्यदुतको कार्यालयले आयोजना गरेको औपचारिक स्वागत कार्यक्रममा बोल्दै राजदूत पोखरेलले आफुले दुई महिनाको अवधिमा यहाँ रहेका नेपालीहरुको समस्यालाई पहिचान गरेको पनि बताएका हुन् । उनले दूतावासमा फोन नउठ्ने समस्याबारे अवगत रहेको बताउँदै जनशक्तिको अभावका कारण यस्तो भएपनि समस्या समाधानका लागि आफुले पहल गरिरहेको जानकारी दिए ।

उनले जनशक्ति थप गरेर समस्या समाधान गरिने बताएका छन् । यस्तै अष्ट्रेलिया आउँदा नेपाली विद्यार्थीले हरेक वर्ष २ विलियन अष्ट्रेलियन डलरभन्दा बढी यहाँ ल्याउने भएपनि पढाई सकेर यहाँ काम गर्न थालेपछि भने नेपालमा रेमिट्यान्सको रुपमा नगण्य मात्रै फिर्ता हुने गरेको प्रसंगमा सबैलाई औपचारिक च्यानलबाट मात्रै नेपालमा रकम पठाउन पनि राजदूतले आग्रह गरेका छन् । राजदूतले केही नेपालीहरुलाई वैधानिक च्यानलबाट, बैंकमार्फत नेपालमा पैसा पठाउँदा यो सरकारकोमा जाने र अन्यत्रबाट पठाउँदा परिवारकोमा पुग्ने भन्नेसम्मको भ्रम भएको पाइयो । जबकि यो सत्य होइन । वैधानिक च्यानलबाट रकम पठाउँदा केही कम भएपनि यसले देशको अर्थतन्त्रलाई टेवा दिने भएकोले एउटा ईमान्दार नागरिकका रुपमा सबैले कानूनी बाटोबाट मात्रै नेपालमा परिवारलाई रकम पठाउन पनि राजदूत पोखरेलले आग्रह गरेका छन् । स्वागत कार्यक्रममा सहभागी भएका नेपालका बैंकहरुका उच्चअधिकारीहरुलाई राजदूत पोखरेलले अष्ट्रेलियामा आफ्नो शाखा र सेवा विस्तार गर्न पनि अनुरोध गरेका थिए ।

विफिनको आयोजनामा मेलबर्नमा केही दिने तालिमका लागि आएका करिब २५ जना नेपाली बैंकहरुलाई पनि उक्त अवसरमा स्वागत गरिएको थियो ।

यसअघि राजदूत पोखरेलले भिक्टोरिया राज्यकी बहुसांस्कृतिक मन्त्री रोश स्पेन्स, शिक्षामन्त्री नटाली हचिन्स लगायतसँग भेट गरेका थिए भने यहाँ रहेको संसद भवनको समेत भ्रमण गरेका थिए । हरेक पटक नयाँ राजदूत आउँदा विभिन्न राज्यमा औपचारिक भ्रमण गर्ने गरेका छन् भने त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग पनि भेटघाट हुने गरेको छ । भेटको अवसरमा अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्य, नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष प्रेम उप्रेति लगायत सहभागी थिए ।