बृहद बन्दै नेपाल फेष्टिभल मेलबर्न, शनिबार फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराइने !

बृहद बन्दै नेपाल फेष्टिभल मेलबर्न, शनिबार फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराइने !

लोकगायक बद्री पंगेनी, गायिका एलिना चौहान र रक व्याण्ड कबवेवको प्रस्तुति मुख्य



मेलबर्न, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ भिक्टोरिया राज्य समितिको आयोजनामा शनिबार नेपाल फेष्टिभल आयोजना हुँदैछ । भिक्टोरिया राज्यमा रहेको बृहद नेपाली समूदायको सहकार्यमा गैरआवासीय नेपाली संघले नेपाल फेष्टिभल गर्न लागेको हो । हरेक दुई वर्षमा आयोजना हुने नेपाल फेष्टिभलमा नेपाली संस्कृति, भाषा, गीत संगीत र खानाको प्रबद्र्धनका साथै नेपाली पर्यटनलाई समेत यहाँको मूल समूदायका माझमा पस्कने तयारी छ ।

नेपाल फेष्टिभल मेलबर्नका संयोजक एवं एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले तयारी पूरा भएको जानकारी दिएका छन् । उनका अनुसार यस पटक नेपालबाट लोकगायक बद्री पंगेनी, गायिका एलिना चौहान र रक व्याण्ड कबवेवको प्रस्तुति मुख्य रहने जानकारी दिए । यस्तै भिक्टोरियामा बसोबास गर्ने कलाकारहरुको सिर्जना समेत करिब १२ घण्टा सञ्चालन हुने नेपाल फेष्टिभलमा दर्शकमाझ पस्कने तयारी छ ।

के हुँदैछ यस पटक

यस पटक अघिल्लो नेपाल फेष्टिभलभन्दा फरक नेपालबाट बैंकरहरुको ठूलै समूह पनि नेपाल फेष्टिभलमा सहभागिताका लागि आउन लागेको छ । विफिनको सहकार्यमा नेपाली बैंकरहरु यहाँ आउन लागेका हुन् । उनीहरुले नेपाली बैंकमा डलर खाता खोल्ने कार्यलाई यहाँको नेपाली समूदायमाझ लैजानेछन् । यस पटक पहिलो पटक कर्पोरेट पार्टनरको रुपमा कमनवेल्थ बैंक पनि सहभागी हुँदैछ ।
नेपाल फेष्टिभल मेलबर्नको ईतिहासमै पहिलो पटक कुनै नेपाली रियल स्टेट कम्पनीेले टाईटल स्पोन्सरका रुपमा सहभागिता जनाएको पनि पहिलो हुनेछ । मेलबर्नमा केन्द्रीय कार्यालय रहेका ब्लूबेरी रियलस्टेटले नेपाल फेष्टिभल मेलबर्नको मुख्य प्रायोजन गरेको छ ।

संयोजक खड्का नेपाल फेस्टिबलको उद्देश्य भनेकै नेपाली कला ,संस्कृति, भाषा, खाना, परिकार, भेषभूषा, संगीत देखि अन्य नेपाली विविध पक्षलार्ई जर्गेना गरेर यो बहुँसाँस्कृतिक समुदायमाझ पस्कने भएको बताउँछन् । उनी भन्छन्, हामी यस वर्ष पनि नेपाल फेष्टिबललाई भव्य र सभ्य बनाउनेछौ । नेपाल चिनाउने तरिका विगतमा भएका नेपाल फेस्टिबलको जस्तै झलक अवश्य नै हुन्छ तर कार्यशैली देखि लिएर, स्टेजमा प्रस्तुत गर्ने नाँचगानको ढाँचा विहान परेडमा हुने प्रस्तुती, स्टल देखि लिएर नेपाल हाउस बनाउने योजनाहरुको अलि फरक प्रस्तुती र अलि विशेष हुनेछ । मलाई विश्वास छ यो वर्षको नेपाल फेस्टिभल विशेष हुनेछ ।

के भन्छन् समूदायका अगुवाहरु

नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले यस पटक स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी लिएको छ । यसका उपाध्यक्ष कृष्ण चालिसे यसको संयोजक बनेका छन् । यस्तै न्याभका पूर्वअध्यक्ष राम गुरुंगले भिक्टोरियाका स्थानीय कलाकारहरुको प्रस्तुतिको संयोजन गरिरहेका छन् । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष प्रेम उप्रेति यस पटक बृहद सहभागिता हुनेमा आशावादी छन् । उनी भन्छन्, लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र कोभिडकै कारण २०२० मा नेपाल फेस्टिभल आयोजना हुन नसकेकाले चार वर्षको अन्तरालमा नेपाल फेस्टिवल आयोजना हुँदैछ । त्यसैगरी, यो बीचको अवधिमा यहाँ नेपाली विद्यार्थीदेखि व्यवसायी सम्मको संख्यामा निकै बृद्धि भएको छ, नेपाली समुदाय ठूलो बनेको छ। अर्को कुरा, अहिले भैरहेका तयारीका कामहरु देख्दा नेपाल फेस्टिभल मेलबर्न २०२२ व्यवस्थित तरिकाले सम्पन्न हुनेछ भन्नेमा हामी आशावादी छौं ।

भिक्टोरियामा नै बसोबास गर्ने एनआरएन आईसीसीका उपाध्यक्ष दुर्गा आचार्य नेपाली पोसाकमा सजिएर मेलबर्न मुटुमा दिन बिताउन पाउँदा हर्ष लाग्ने बताउँछन् । उनी भन्छन्, “फेडेरेसन स्क्वाएरमा नेपालको झण्डा देख्दा, हाम्रो नयाँ पुस्ताका नानीबाबुहरु नेपाली भेषभुषामा सजिएर सहभागी भएको देख्दा, परेडमा हाम्रा मौलिक बाजा घन्किदा कैयौंपटक म भावुक पनि भएको छु। यहाँको बहुसांस्कृतिक समाजमा यसरी आफ्नो देशबारे बताउँदा अत्यन्तै गर्व लाग्छ। यहाँका स्थानीयहरु आएर नेपालका बारेमा अवलोकन गरेको, जानकारी लिइरहेको देख्दा मन हर्षित हुन्छ ।”

यस्तो छ नेपाल फेष्टिभल मेलबर्नको ईतिहास

मेलबर्नमा सन् २००८ मा पहिलो नेपाल फेष्टिभल आयोजना गरिएको थियो । पहिलो नेपाल फेस्टिवल मेलबर्नको संयोजक राजु शाक्य थिए । उक्त दिन उपस्थित करिब १० हजार जनाको सहभागिता नेपालीको मात्र नभई स्थानीय र बहुसांस्कृतिक समुदायका व्यक्तिहरुको पनि रह्यो, जसले गर्दा भिक्टोरियावासी नेपाली समुदायका लागि नेपाल फेस्टिवलको त्यो विशेष दिन गर्वको क्षण बन्यो ।

संस्कृति र जीवनको उत्सवको रुपमा मनाइएको पहिलो नेपाल फेस्टिवल मेलबर्नको त्यो क्षण सम्झिंदा अहिले पनि उत्साहको संचार हुने बताउँछन् शाक्य । उनी भन्छन्, त्यतिबेला नेपाली समुदाय भर्खर हुर्किंदै थियो, भनौं। हामीले दशैं, तिहार जस्ता पर्वमा स(साना कार्यक्रम आयोजना गर्ने गर्थ्यौं । फेडेरेसन स्क्वाएरलाई मेलबर्नको मुटु मानिन्छ। त्यस्तो ठाउँमा त्यो दिन नेपालको झण्डा सम्भवतस् पहिलो पटक फहरायो। त्यहाँ पहिलो पटक त्यसरी नेपाली संगीत गुञ्जियो। हामी सबै भावुक भएका थियौं। किनकि त्यतिबेलासम्म समुदाय बढी नसकेको हुनाले हामीले यहाँ एक्लो महसुस गर्थ्यौं, अरुको भूमीमा आएर बसिरहेका छौं भन्ने एकखालको अनुभूति हुन्थ्यो। त्यो नेपाल फेस्टिवलले चाहिं, हाम्रो पनि आफ्नै पहिचान छ, हाम्रो पनि समुदाय छ, यो ठाउँ हाम्रो समुदायको पनि हो, हामी पनि यहाँका मान्छे हौँ र यहाँको बहुसांस्कृतिक समुदायले हामीलाई अंगालेको छ भन्ने महसुस गरायो। त्यसैले अर्को नेपाल फेस्टिवलको पनि संयोजक भएर काम गरेको भएतापनि त्यो पहिलो नेपाल फेस्टिवललाई विशेष रुपमा स्मरण गर्छु म ।

त्यसपछि सन् २०१० मा अ जर्नी थ्रु नेपाल नारासहित नेपाल फेस्टिभल मेलबर्नको आयोजना गरियो। त्यसवर्ष बीस हजारभन्दा बढी अवलोकनकर्ताको सहभागीता रहेको थियो। त्यसपछि भने विविध कारणवश २०१४ मा मेलबर्नमा फेरी नेपाल फेस्टिवलको
आयोजना भयो। उक्त वर्ष सिड्नी र मेलबर्न मात्र नभई अन्य सहरमा पनि कार्यक्रमको आयोजना गरिएको थियो ।

२०१४ अर्थात् तेस्रो नेपाल फेस्टिवल मेलबर्नमा अपेक्षा गरीएभन्दा बढी, तीस हजार जनाको सहभागिता रहेको थियो। ऋषि कंडेलको संयोजकत्वमा आयोजित नेपाल फेस्टिवल २०१४ को नारा थियो, युनिटी इन डाइभर्सिटि । सांस्कृतिक परेड र नेपाली हस्तकला प्रदर्शनको नेपाल हाउस अवधारणा २०१४ मै जन्मिएको उल्लेख गर्दै तत्कालिन संयोजक ऋषि कंडेल भन्छन्, राज्य संयोजक भएको हिसाबले नेपाल फेस्टिवल मेलबर्न २०१४ कार्यक्रम आयोजनाको नेतृत्व गरेको थिएँ । पहिलेभन्दा आवश्यक स्रोत/साधन जुटाउन केही सहज त भएको थियो, तर अझै पनि सिमितता थियो। तरपनि हामीले सांस्कृतिक परेड र नेपाल हाउसको अवधारणा ल्यायौं, जसलाई सबैले मन पराउनुभयो र अहिले पनि त्यसले निरन्तरता पाइरहेको छ। त्यस वर्ष तीस हजार जनाको सहभागिता रहेको थियो ।

त्यसको दुई वर्ष पछि २०१६ मा चौथो नेपाल फेस्टिवल मेलबर्नको आयोजना भयो, जसमा ३८ हजारभन्दा बढीको सहभागिता रह्यो। उक्त नेपाल फेस्टिवलको संयोजक थिए केशव कंडेल । उनी भन्छन्, “यो फेष्टिभलमा म आफै पनि एकपटक रोएको छु। कलाकारहरुले धरहरा सम्बन्धि प्रस्तुति दिइरहनुभएको थियो। संयोगले मैले त्यो प्रस्तुति सुरुदेखि हेर्ने मौका पाएँ। त्यो हेर्दै गर्दा म यति भावुक बनें, मैले आफूलाई सहाल्नै सकिरहेको थिइन। नेपाल फेस्टिवल हाम्रो भावना, हाम्रो मन, हाम्रो माटोसंग जोडिएको छ भन्ने लाग्छ मलाई ।”

यस वर्ष मेलबर्नमा आयोजना गरिएको नेपाल फेस्टिवल मेलबर्नको छैठौं नेपाल फेस्टिवल हो। यसभन्दा अघि मेलबर्नमा सन् २०१८ मा पाँचौं नेपाल फेस्टिवलको आयोजना भएको थियो। उक्त कार्यक्रममा ४५ हजार जनाको सहभागिता रह्यो । मेलबर्नमा नेपाली संस्थाद्वारा आयोजित कार्यक्रममा यति धेरै अवलोकनकर्ता सहभागी भएको यो पहिलो पटक थियो ।

नेपाल फेस्टिवल २०२२ मेलबर्नको नारा सेलिब्रटिङ्ग कल्चर, इम्ब्र्यसिंग डाइभरसिटि रहेको छ । निशुल्क प्रवेशको यो कार्यक्रम फेडेरेसन स्क्वायरमा बिहान ११ बजेदेखि सुरु हुनेछ । यसअघि साढे १० बजे पार्लियामेन्ट हाउस अगाडिबाट फेडरेसन स्क्वायरसम्म नेपाल फेष्टिभल परेड आयोजना गरिनेछ । यसअघि शुक्रबार नेपाल फेष्टिभल गाला डिनरको आयोजना गरिएको छ ।

Photos : Arun Chitrakar