अभिभावकको सेवामा चितवन समाज भिक्टोरिया, गुम्बा र मन्दिरको भ्रमण

अभिभावकको सेवामा चितवन समाज भिक्टोरिया, गुम्बा र मन्दिरको भ्रमण


मेलबर्न, अष्ट्रेलिया ।

चितवन समाज भिक्टोरियाले शनिबार १ सय ५० अभिभावकहरुलाई गूम्बा, मन्दिर लगायतको भ्रमण गराएको छ । चितवन र अष्ट्रेलियामा सामूदाियक कार्यक्रम गर्दै आएको संस्थाले अभिभावक लक्षित कार्यक्रम गरेको यो तेश्रो पटक हो । शनिबारको कार्यक्रमका लागि अभिभावकहरुलाई क्रेगीबर्न, लालोर र ग्लेनरोयबाट बस चढ्ने व्यवस्था गरिएको थियो ।

चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले भने, “सबैलाई कोबर्गमा भेला गराएर चिया नास्तापछि हामीले अभिभावक भ्रमण सुरु गरेका थियौं । त्यसपछि दुर्गा मन्दिरमा गएर भजन कीर्तन, नाचगान, पूजाआजा सम्पन्न भयो । बुबा आमाहरुले निकै रमाइलो मान्नुभयो । त्यहाँ एक अर्कासँग परिचय गर्ने अवसर पनि उहाँहरुले पाउनुभयो । त्यसपछि हामी लारामा रहेको बौद्ध गुम्बामा गयौं । त्यहाँ अभिभावकहरुको लागि थोरैबेर ध्यान गर्ने व्यवस्था मिलाइएको थियो ।”

यात्राको क्रममा नै अभिभावकहरुले भजन कीर्तन सहित रमाइलो गरेका थिए । अभिभावक भ्रमण कार्यक्रम अन्तर्गत जिलोंगको बोटानिकल गार्डेनमा पिकनिक मनाईको थियो । जहाँ अभिभावकहरुले खानाका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी बनेका थिए । उक्त अवसरमा बोल्दै अभिभावकहरुले अष्ट्रेलियाको व्यस्त दैनिकीबीच पनि समय निकालेर चितवन समाजले अभिभावकहरुलाई सम्झेकोमा खुशी व्यक्त गरेका थिए ।

उनीहरुले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिन पनि अनुरोध गरेका छन् । अष्ट्रेलियामा आफ्ना सन्तान सन्तति भेट्न आएका उनीहरु यहाँको भ्रमण स्मरण नेपालमा सबैमाझ बाँड्ने बताउँछन् । उक्त कार्यक्रममा बोल्दै चितवन समाज भिक्टोरियाका पूर्वअध्यक्ष सोमप्रसाद गुरुंगले यसअघि संस्थाले गरेका कार्यका विषयमा जानकारी गराएका थिए भने कार्यक्रमको सञ्चालन उपाध्यक्ष विपुल ज्ञवालीले गरेका थिए ।

यस्तै कार्यक्रममा बोल्दै चितवन समाज भिक्टोरियाका अध्यक्ष अनुपम पाठकले यो भ्रमण कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैमा आभार व्यक्त गरेका थिए । कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीले तीनवटा पुस्तक चितवन समाजलाई हस्तान्तरण गरेका थिए ।

चितवन समाज भिक्टोरियाले यसअघि पनि अभिभावकहरुको लागि दुई पटक कार्यक्रम गरिसकेको छ । दशैंको अवसर पारेर आगामी अक्टोबर २१ तारिखमा क्रुज पार्टी गर्ने तयारी समाजको छ ।