काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समिति गठन गरेको छ । समितिमा संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा हिमेश पन्तसहित ५ जना मनोनीत भएका छन् ।
समितिको संयोजकमा कविन्द्र बुर्लाकोटी रहेका छन् । त्यस्तै, डा। नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाल सदस्य रहेका छन् ।
क्यान्डिडेट क्लब समितिको बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा छलफल भएको छ ।
बैठकले उम्मेदवारका आकाङ्क्षी तथा आवेदकबाट आवश्यक विवरण र कागजात संकलन गर्ने विधि तथा प्रक्रिया निर्धारण गर्ने विषयमा छलफल गरेको छ ।
त्यस्तै, विभिन्न क्षेत्रका योग्य तथा सक्षम व्यक्तिहरूलाई पार्टीको उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ‘ल्याटेरल इन्ट्री’ सम्बन्धी आवेदन फारम तयार गर्ने निर्णय गरेको छ ।
उम्मेदवार छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा पनि बैठकमा छलफल भएको रास्वपाले जनाएको छ ।
स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले समितिले आवश्यक प्रक्रिया र मापदण्ड तयार गर्ने काम अघि बढाएको हो ।

प्रतिक्रिया