सिड्नी, अष्ट्रेलिया । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशमा बस्ने नेपालीहरुको लागि देशमा लगानी गर्ने विभिन्न अवसरहरु ल्याउन लागेको बताएका छन् । फेडरेसन अफ ईन्टरनेशनल नेप्लीज युथ अन्ट्रप्रनर्स अष्ट्रेलियाको आयोजनामा सिड्नीमा दुई दिनसम्म चलेको सम्मेलनको क्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो जानकारी गराएका हुन् । भर्चुअल माध्यमबाट उपस्थित भएका डा. वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई सरकारको “एक पटकको नेपाली, सधैँको नेपाली” भन्ने नीतिमा विश्वस्त रहन आग्रह गर्दै नेपालको आर्थिक समृद्धि र विकास यात्रामा सक्रिय साझेदार बन्न आह्वान गरेका छन् ।
शनिबार अस्ट्रेलियाका नेपाली युवा उद्यमीहरूले आयोजना गरेको सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार र आफ्नो पार्टी प्रवासी नेपालीप्रति स्पष्ट धारणा राखेको बताए ।
“एक पटकको नेपाली, सधैँको नेपाली हौँ भन्ने हाम्रो मान्यतामा हामी स्पष्ट छौँ। ढुक्क हुनुहोस्, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ हौँ,” उनले भने ।
उनले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको विकास र लगानी विस्तारका लागि महत्वपूर्ण सद्भावना दूतको रूपमा चित्रण गर्दै नयाँ सरकारले सुशासन स्थापना, सार्वजनिक सेवा प्रवाह सुधार तथा आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
अर्थमन्त्री वाग्लेका अनुसार सरकारले पहिलो १०० दिनमै सुशासन, पारदर्शिता र आर्थिक सुधारका क्षेत्रमा उल्लेखनीय सुरुवात गरेको छ। “सरकारको नेतृत्वदेखि मन्त्रीहरूसम्म सबैले उच्च नैतिकताको कसीमा उभिएर काम गरिरहनुभएको छ। मेरिटोक्रेसी, नेतृत्वमा उच्च नैतिकता, भ्रष्टाचारमा शून्य सहनशीलता र अर्थतन्त्रको जहाज मोड्ने प्रयास पछिल्लो एक दशककै महत्वपूर्ण सुधारको सुरुवात हो,” उनले बताए ।
उनले हालै सार्वजनिक गरिएको बजेटमार्फत कर प्रणाली, राजस्व व्यवस्थापन, बजेट वितरण तथा लगानीमैत्री वातावरण निर्माणका लागि नयाँ नीति अवलम्बन गरिएको उल्लेख गर्दै प्रवासी नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

विदेशबाट ल्याइने वैध लगानी तथा त्यसको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै अस्ट्रेलियामा रहेका नेपालीहरूलाई आफ्नै वा विदेशी लगानी नेपाल भित्र्याउन अग्रसर हुन आग्रह गरे ।
“डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्वपूर्ण ढोकाहरू खोलिएका छन्। तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ। आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा राम्रो सहजकर्ता हो,” उनले बताए ।
एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालनजस्ता नयाँ अवधारणाहरू प्रवासी नेपालीको लगानी आकर्षित गर्न ल्याइएको उल्लेख गर्दै सरकारले थप सुधार गर्नुपर्ने विषयमा पनि स्पष्ट सुझाव दिन आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको महत्वपूर्ण सम्पत्तिको रूपमा वर्णन गर्दै देश निर्माणको साझा अभियानमा एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभयो।
“अस्ट्रेलियाको कुल जनसङ्ख्याको करिब एक प्रतिशत नेपाली हुनु आफैँमा गौरवको विषय हो। नेपालको समृद्धिका लागि तपाईंहरूको ज्ञान, सीप, अनुभव र लगानी अत्यन्तै महत्वपूर्ण छ,” उहाँले भन्नुभयो।

प्रतिक्रिया