ओशिनिया नेपाली स्पोर्ट्स मिट २०२७ को एडिलेडमा भव्य तयारी सुरु, ओलम्पियन कट्रिना वेभ सद्भावना दूत नियुक्त

ओशिनिया नेपाली स्पोर्ट्स मिट २०२७ को एडिलेडमा भव्य तयारी सुरु, ओलम्पियन कट्रिना वेभ सद्भावना दूत नियुक्त


एडिलेड, दक्षिण अष्ट्रेलिया — ओशिनिया क्षेत्रकै सबैभन्दा ठूलो र प्रतिष्ठित नेपाली खेलकुद महोत्सव ‘७ औँ ओशिनिया नेपाली स्पोर्ट्स मिट २०२७’ को तयारी औपचारिक रूपमा सुरु भएको छ। आगामी २५–२८ मार्च २०२७ मा एडिलेडमा आयोजना हुने प्रतियोगितालाई सफल बनाउन दक्षिण अष्ट्रेलिया राज्य समन्वय समिति सार्वजनिक गरिएको छ।

समितिका संयोजक विजय जोशीका अनुसार ओशिनिया क्षेत्रभरिका नेपाली खेलाडी, खेलप्रेमी र समुदायलाई एउटै मञ्चमा जोड्ने, नेपाली पहिचानलाई प्रवर्द्धन गर्ने तथा दक्षिण अष्ट्रेलियाको खेल तथा आतिथ्य क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने उद्देश्यसहित तयारी अघि बढाइएको हो।

प्रतियोगिताका लागि विजय जोशीको नेतृत्वमा मुख्य कार्यसमिति गठन गरिएको छ भने विभिन्न खेल विधा, स्पन्सरसिप, मिडिया, सांस्कृतिक कार्यक्रम, स्वयंसेवक व्यवस्थापन, आईसीटी, मेडिकल र लजिस्टिक्सलगायतका क्षेत्रका संयोजकहरू समेत तोकिएका छन्।

मुख्य कार्यसमिति र विभागीय जिम्मेवारी प्रतियोगिताको चुस्त व्यवस्थापनका लागि घोषित मुख्य कार्यसमिति यस प्रकार रहेको छ: संयोजक विजय जोशी, सह-संयोजक सन्तोष अधिकारी, कोषाध्यक्ष दिपेश राज पाण्डे, आर्थिक संयोजक दिप्सन खड्का, मिडिया संयोजक बालगोपाल उपाध्याय, स्पन्सरसिप संयोजक रेनुका लामा, सह-संयोजक रुपक बर्तौला, डकुमेन्ट कन्ट्रोलर नबिन पन्त, मल्टिकल्चरल/कम्युनिटी संयोजक मञ्जु खड्का, लजिस्टिक संयोजक सन्तोषी गौतम, इभेन्ट म्यानेजमेन्ट संयोजक पुस्कर कोइराला, आईसीटी सपोर्ट संयोजक मधुकर पौडेल, सांस्कृतिक संयोजक सिमा गुरुङ, मेडिकल संयोजक रक्षा शुक्ला, डिजिटल मिडिया/प्रमोशनल संयोजक सभा डिसी न्यौपाने, खेलकुद संयोजक थिर गुरुङ, स्वयंसेवक संयोजक अनुभव अधिकारी, कानुनी सल्लाहकार मोति नराल र सल्लाहकार सुपक अधिकारी।

विभिन्न खेलहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विधागत खेल संयोजकहरू तोकिएका छन्, जसअन्तर्गत क्रिकेटका लागि बिकास सुवेदी, जुनियर क्रिकेटका लागि लक्ष्मी सापकोटा, फुटबलका लागि चिरु श्रेष्ठ, भलिबलका लागि प्रदिप खत्री, बास्केटबलका लागि रोश धमाला, टेबल टेनिस तथा लन टेनिसका लागि नबिन कडेल, ब्याडमिन्टनका लागि जोभ अधिकारी, स्विमिङका लागि हिमाल कडेल, गल्फका लागि बिशाल मान श्रेष्ठ र ट्र्याक एण्ड फिल्डका लागि रमेश राजभण्डारी संयोजकका रूपमा नियुक्त गरिएका छन्।

यस संस्करणको मूल नारा ‘हेरिटेजद्वारा एकजुट, खेलकुदद्वारा प्रेरित’ तय गरिएको छ भने दक्षिण अष्ट्रेलियाको परिचित वन्यजन्तु ‘कोआला’ लाई आधिकारिक मस्कटका रूपमा सार्वजनिक गरिएको छ। आयोजकका अनुसार कोआलाले एकता, मैत्रीभाव, सहकार्य र न्यानो आतिथ्यको प्रतीकात्मक प्रतिनिधित्व गर्नेछ।

प्रतियोगिताको अर्को महत्वपूर्ण आकर्षणका रूपमा अष्ट्रेलियाकी चर्चित प्यारालिम्पिक स्वर्ण पदक विजेता तथा अन्तर्राष्ट्रिय नेतृत्व प्रशिक्षक कट्रिना वेभलाई आधिकारिक सद्भावना दूत नियुक्त गरिएको छ। नेपालसँग विशेष आत्मीय सम्बन्ध राख्ने वेभले दुई पटक सगरमाथा आधार शिविरको पदयात्रा गरिसक्नुभएको छ भने नेपाल नेतृत्व कार्यक्रममार्फत विभिन्न सामाजिक तथा नेतृत्व विकास गतिविधिमा समेत संलग्न रहँदै आउनुभएको छ।

संयोजक विजय जोशीले कट्रिना वेभको सहभागिताले प्रतियोगिताको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै प्रतियोगितालाई नेपाली समुदायमा मात्र सीमित नराखी अष्ट्रेलियाली मूलधार समाजसँग समेत जोड्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा प्रत्येक खेल विधाका लागि अलग-अलग सद्भावना दूतहरू समेत नियुक्त गरिनेछ।

सन् २०१३ देखि सञ्चालन हुँदै आएको ओशिनिया नेपाली स्पोर्ट्स मिटलाई नेपाली समुदायको ‘ओलम्पिक’ का रूपमा समेत चिनिन्छ। प्रतियोगितामा अष्ट्रेलियाका विभिन्न राज्य तथा न्युजिल्याण्डबाट गरी ७०० देखि ८०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ।

आयोजकहरूका अनुसार यस महोत्सवले दक्षिण अष्ट्रेलियाको पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार तथा सामुदायिक सहभागितामा सकारात्मक आर्थिक र सामाजिक प्रभाव पार्ने अपेक्षा गरिएको छ।