होबार्ट। अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्वीन्सल्यान्ड इन्टरनेशनल बिजनेस एकेडेमी (क्यूआईबीए) ले तास्मानियाको राजधानी होबार्टमा नयाँ क्याम्पस औपचारिक रूपमा उद्घाटन गरेको छ। संस्थाले आफ्नै सुविधा भित्र स्थायी क्याम्पस सञ्चालन सुरु गरेको जनाएको छ।
उद्घाटन समारोहमा क्यूआईबीए का प्रमुख कार्यकारी अधिकृत जिवन थापा विशेष रूपमा सहभागी थिए। कार्यक्रममा अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा पनि उपस्थित भई शुभकामना व्यक्त गरेका थिए। साथै तास्मानियामा क्रियाशील विभिन्न शैक्षिक परामर्शदाता संस्थाका प्रतिनिधिहरूको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।

क्यूआईबीए सन् १९८६ मा स्थापना भएको संस्था हो। संस्थाले करिब चार दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै बलियो प्रतिष्ठा बनाएको बताइएको छ। पछिल्लो १२ वर्षभन्दा बढी समयदेखि तास्मानियामा योगदान गर्दै आएको संस्थाले विद्यार्थी, स्नातक तथा रोजगारदातालाई सहयोग पुर्याउँदै आएको जनाएको छ।
हालसम्म क्यूआईबीए बाट १० हजारभन्दा बढी विद्यार्थी स्नातक भइसकेका छन्। ती स्नातकहरू अहिले अस्ट्रेलियाका विभिन्न उद्योग तथा पेशागत क्षेत्रमा आफ्नो सीप र ज्ञान प्रयोग गर्दै योगदान गरिरहेका छन्।
क्यूआईबीए ले विद्यार्थीहरूलाई रोजगारी बजारका लागि तयार बनाउन व्यवहारिक तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत बायोडाटा लेखन, अन्तर्वार्ता तथा संवाद सीप, कार्यस्थल अभ्यास तथा संरचित इन्टर्नशिप लगायतका तालिमहरू समावेश छन्। संस्थाका अनुसार यस्तो अभ्यासमुखी प्रणालीले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै कामका लागि तयार बनाउन महत्वपूर्ण सहयोग पुर्याउँछ।

उद्घाटन समारोहमा सहभागी तास्मानियाकी श्याडो मिनिस्टर तथा लेबर पार्टीकी क्लार्क क्षेत्रकी सांसद एला हाड्डाड ले क्यूआईबीए जस्ता शिक्षा प्रदायक संस्थाहरूले तास्मानियामा देखिएको सीप अभाव समाधान गर्न महत्वपूर्ण योगदान पुर्याइरहेको बताइन्। उनले यस्ता संस्थाहरूले विद्यार्थीहरूलाई दक्ष र रोजगारीका लागि तयार जनशक्ति बनाउँदै राज्यको रोजगार क्षेत्रलाई अझ मजबुत बनाउने धारणा राखिन्।
कार्यक्रममा होबार्टकी उप–मेयर डा. जेलेन्डा शरलोक पनि सहभागी थिइन्। उनले नयाँ क्याम्पस सञ्चालनले स्थानीय तथा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अवसर विस्तार गर्नुका साथै तास्मानियाको अर्थतन्त्रलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
उद्घाटन समारोहमा तास्मानिया विश्वविद्यालय, तास्मानिया प्राविधिक तथा थप शिक्षा संस्था (तासटाफे), स्थानीय कलेजहरूका प्रतिनिधिहरू, समुदायका प्रतिनिधिहरू तथा अस्ट्रेलियन कम्प्युटर सोसाइटी का प्रतिनिधिहरू समेत उपस्थित रहेका थिए। साथै कार्यक्रममा होबार्टका सूचना प्रविधि कम्पनीहरूका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
सहभागीहरूले यसलाई शिक्षा र उद्योग क्षेत्रबीच समन्वय तथा सहकार्य बढाउने अवसर का रूपमा लिएका छन्। क्यूआईबीए ले नयाँ होबार्ट क्याम्पस उद्घाटनसँगै आगामी दिनमा पनि तास्मानियामा शिक्षा, सीप विकास र रोजगारी तयारीसँग जोडिएको सेवा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
तस्बिर सौजन्य : सुजन फोटोग्राफी






प्रतिक्रिया