ईक्यान निर्वाचन सम्पन्न: अध्यक्षमा लक्ष्मण (एन्ड्रयू) पौडेल चयन

ईक्यान निर्वाचन सम्पन्न: अध्यक्षमा लक्ष्मण (एन्ड्रयू) पौडेल चयन


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०८२ सालको कार्यसमिति निर्वाचनबाट लक्ष्मण (एन्ड्रयू) पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। काठमाडौंमा सम्पन्न निर्वाचनमार्फत ईक्यानको नयाँ नेतृत्व चयन गरिएको हो।

अध्यक्षसँगै उपाध्यक्ष पदमा बासुदेव दाहाल, विकल्पराज पोखरेल र गीता शिवाकोटी निर्वाचित भएका छन्। महासचिव पदमा भवनाथ हुमागाईं विजयी भएका छन्। यसैगरी सचिव पदमा सुरज सिलवाल र आशिक कार्की निर्वाचित भएका छन् भने कोषाध्यक्षमा साधना पुडासैनी निर्वाचित भएकी छन्। सह–कोषाध्यक्ष पदमा गोविन्द खनाल विजयी भएका छन्।

कार्यसमिति सदस्यहरूमा अनन्तराज घिमिरे, उद्धव बन, विवेक बस्नेत, दामोदर शर्मा, अशोककुमार हाथी, दिनेश पौडेल, सञ्जिव पाण्डे, शिवप्रसाद अर्याल र कमलप्रसाद तिमल्सिना निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण (एन्ड्रयू) पौडेल शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेका अनुभवी नेतृत्वकर्ता हुन्। ग्रेस इन्टरनेशनल नेपाल तथा दक्षिण एसिया क्षेत्रको नेतृत्व सम्हाल्दै आएका कन्ट्री डाइरेक्टर का रूपमा उनले हजारौं नेपाली विद्यार्थीलाई विदेश अध्ययनका अवसर, नीति तथा प्रक्रियासम्बन्धी परामर्श र मार्गदर्शन प्रदान गर्दै आएका छन्।। शैक्षिक परामर्शलाई केवल भिसा प्रक्रियामा सीमित नराखी दीर्घकालीन करियर योजना, नैतिक अभ्यास र उत्तरदायी पेशागत संरचना का रूपमा स्थापित गर्नुपर्ने उनको स्पष्ट दृष्टिकोणले उनको नेतृत्व शैलीलाई परिभाषित गर्छ।

ईक्यानभित्र उनी लामो समयदेखि सक्रिय रहँदै यसअघि प्रथम उपाध्यक्षको भूमिकामा रहेका थिए। उक्त भूमिकामा उनले केन्द्र–शाखा समन्वय सुदृढ गर्ने, सदस्य संस्थाहरूको क्षमता विकास, तालिम तथा संस्थागत प्रक्रियालाई मजबुत बनाउने पहलहरू अघि बढाउँदै आएका थिए। परामर्श उद्योगभित्रको गहिरो अनुभव, निरन्तर सक्रिय उपस्थिति र सहकार्यमा आधारित निर्णय प्रक्रियालाई प्राथमिकता दिने नेतृत्व शैली नै उनका समर्थकहरूका अनुसार उनको मुख्य शक्ति हो।

ईक्यानको यस निर्वाचनले आगामी कार्यकालका लागि संस्थागत नेतृत्वलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमितिले विदेश अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय, पारदर्शी र जिम्मेवार शैक्षिक परामर्श सेवा प्रदान गर्दै परामर्श क्षेत्रको विश्वसनीयता र पेशागत मापदण्ड सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

ईक्यान देशभर शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठनका रूपमा क्रियाशील रहँदै आएको छ।