अस्ट्रेलियाको सिड्नीमा ‘थारु माघी महोत्सव’ आयोजना हुँदै

अस्ट्रेलियाको सिड्नीमा ‘थारु माघी महोत्सव’ आयोजना हुँदै


सिड्नी, अष्ट्रेलिया । अस्ट्रेलियामा बसोबास गर्ने थारु समुदायबीच आपसी भाइचारा मजबुत बनाउँदै थारु कला, संस्कृति तथा मौलिक चाडपर्वको संरक्षण र प्रवर्द्धन गर्दै आइरहेको थारु सोसाइटी सिड्नीले यस वर्ष छैटौँ पटक ‘थारु माघी महोत्सव’ आयोजना गर्ने भएको छ।

सन् २०१८ मा स्थापना भएको थारु सोसाइटी सिड्नीले अघिल्ला पाँच माघी पर्वको सफल निरन्तरता दिँदै यस वर्ष पनि माघी पर्व विविध सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउन लागेको हो।

सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरीका अनुसार कार्यक्रम आउँदो जनवरी १५, बिहीबार (थारु सम्बत २६४९, माघ १ – माघे सङ्क्रान्ति) का दिन साँझ ५ बजेदेखि राति १० बजेसम्म सिड्नीस्थित इन्द्रेणी फङ्सन सेन्टर, रकडेलमा आयोजना हुनेछ।

महोत्सवमा चर्चित गायक सविन चौधरीको विशेष सांगीतिक प्रस्तुति रहनेछ। साथै थारु संस्कृतिअनुसार लाठी नाच, झुमरा नाच, थारु र्याम्प, वाकलगायत मौलिक नृत्य, सांस्कृतिक झाँकी, सामूहिक नृत्य तथा परम्परागत थारु परिकार र खानपिन कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ।

फर्स्टाइल होम्सको प्रस्तुतिमा तथा द गार्डेन्स अन फरेस्ट (इन्द्रेणी ग्रुप)को सहकार्यमा आयोजना हुने यस महोत्सवले प्रवासमा रहेका थारु समुदायलाई आफ्नो भाषा, संस्कृति र पहिचानसँग जोडेर राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

थारु सोसाइटी सिड्नीका अध्यक्ष दीपनारायण चौधरीले माघी पर्व केवल चाड मात्र नभई थारु समुदायको पहिचान, एकता र संस्कृतिको प्रतीक भएको बताए।
“माघी हाम्रो इतिहास, संस्कार र सामूहिक पहिचानको उत्सव हो,” उनले भने, “अस्ट्रेलियामा बसोबास गर्ने थारु समुदायलाई एउटै मञ्चमा जोड्ने, नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृतिसँग परिचित गराउने तथा बहुसांस्कृतिक समाजमा थारु पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो।”

कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोकिएको छ। आयोजकले अस्ट्रेलियामा रहेका सम्पूर्ण थारु समुदायसहित सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई महोत्सव सफल बनाउन हार्दिक अनुरोध गरेको छ।