आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएरै प्रतिष्पर्धा : माधवकुमार नेपाल

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएरै प्रतिष्पर्धा : माधवकुमार नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अबको पाँच वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

नेकपा (एमाले) र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म पुस्तक लोकार्पण गर्नुहुँदै अध्यक्ष नेपालले भन्नुभयो, “राजनीतिका लागि समय निकाल्न धेरै सञ्चारकर्मीले समय मागे पनि मलाई समय निकाल्न गाह्रो भइरहेको छ ।” अध्यक्ष नेपालले आफू ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरेपनि परिस्थितिले नदिएको बताउनुभयो । 

७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने उहाँले उद्घोष गर्नुभयो । उहाँले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको चर्चा गर्नुभयो । यस पटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेको पनि उहाँको भनाइ छ । 

चुनावको मिति घोषणा गरिसकेको अवस्थामा चुनावमा नजाँदा माधव नेपाल डरायो भन्ने पर्नसक्छ, परिस्थितिको सामना गरेर विजयको ढोका खोल्नेतर्फ लाग्छौं उहाँले भन्नुभयो, ‘अब राजनीतिबाट पाँच वर्षपछि बिदाई हुनुपर्लाजस्तो लागिरहेको छ, धेरै बस्न मन छैन ।’ 

अध्यक्ष नेपालले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन बनाएरै प्रतिष्पर्धा गर्ने पनि बताउनुभयो । शुक्रवारको गठबन्धन दलको बैठकले निर्वाचनमा मिलेर प्रतिष्पर्धा गर्ने निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन कायम राख्दै, तेस्रो शक्तिको निर्माण पनि गर्न गइरहेका छौं ।’

तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा रहने उहाँको भनाइ छ । नेपाली काँग्रेसलाई सबैथोक हुँ भन्ने लागेको होला, यसले बिगारेको छ उहाँले भन्नुभयो ।