सकारात्मकताका साथ अघि बढ्न अष्ट्रेलियाका नेपाली राजदूत पोखरेलको अनुरोध

सकारात्मकताका साथ अघि बढ्न अष्ट्रेलियाका नेपाली राजदूत पोखरेलको अनुरोध


क्यानबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले आफ्नो कार्यकाल सम्हालेपछि पहिलो पटक सार्वजनिक अपिल जारी गर्दै दूतावासको वर्तमान अवस्था, आफ्नो रोडम्याप सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल मार्फत हालसम्म यहाँको वस्तुस्थितिको आंकलनबाट निस्किएको निष्कर्श प्रस्तुत गर्दै राजदूत पोखरेलले दूतावासमा जनशक्तिको अभाव भएको जानकारी गराएका हुन् । पछिल्लो समय नेपालीको संख्या बढ्दै जाँदा पनि यहाँ जनशक्ति कम भएका कारण विभिन्न गुनासो आएको हुनसक्ने पोखरेलको ठम्याई छ ।
राजदूत पोखरेलले नेपालमा यतिबेला विदेशी मुद्राको अत्यन्तै आवश्यक भएकोले वैधानिक माध्यमबाट मात्रै कारोबार गरी देशको अर्थतन्त्रमा थोरै भएपनि योगदान दिन समेत अनुरोध गरेका छन् ।

राजदूत पोखरेलले हुन्डी लगायतको अवैधानिक माध्यमबाट नेपालसम्म पैसा जाने कार्यलाई रोक्न कस्तो उपाय अवम्बन गरिनेछ भन्ने विषय भने खुलाएका छैनन् । दूतावासँग सम्बन्धित कुनैपनि गुनासो हुँदा ईमेल वा मेसेजको माध्यमबाट आफु सदैव उपस्थित रहने प्रतिबद्धता पनि राजदूत पोखरेलको छ ।
प्रस्तुत छ राजदूत पोखरेलले सार्वजनिक गरेको ठम्याई जस्ताको तस्तै उनको फेसबुक वालबाट –

अष्ट्रेलिया, न्युजिल्यान्ड र प्रशान्त क्षेत्रमा बसोबास गर्नुहुने सम्पूर्ण आदरणीय नेपालीहरूमा, म अष्ट्रेलिया आएपछि मलाई अनुभूत भएका बिषयहरुमा मेरो अनुरोध !

—————————————-

म भर्खरै अष्ट्रेलियाको लागि राजदूत भएर क्यानबेरामा आएको कुरा यहाँहरू सबैलाई अवगत नै छ ।

अष्ट्रेलियाका राष्ट्र प्रमुख His Excellency David Hurley समक्ष मैले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि म यहाँका विदेश मन्त्री, सचिव लगायत उच्च पदाधिकारीहरूसँग भेट गरी अन्य मुलुकका महामहिम राजदूतहरूसँग भेटघाट गर्ने क्रममा छु ।

त्यसैगरी, राजदूतावासमा कामको सिलसिलामा आउने नेपालीहरूसँग म प्रत्यक्ष सम्पर्कमा छु र वहाँहरूको सल्लाह सुझाव पनि लिइरहेको छु ।

यहाँहरूलाई थाहा नै छ, हाम्रो राजदूतावास सानो छ । यहाँ बस्ने नेपालीहरूको संख्या बढेको छ तर दूतावासको जनशक्तिचाहिँ यथावत् छ ।

सूचना प्रविधिको प्रयोग गरेर पाउन सकिने सेवालाई अझै सजिलो बनाउने हाम्रो प्रयास निरन्तर जारी छ ।

कसरी प्रणाली (system) भित्र काम गर्ने, अहिलेको हाम्रो कर्मचारी साथीहरूको कार्यचाप (work load) लाई कसरी कम गरेर सेवा चुस्त बनाउने, फोन नै नगरी पनि सबैले बुझ्ने गरी कसरी website लाई सरल बनाउने लगायतका सुधारका प्रयासहरू भइरहेका छन् |

सबैले सामान्य विषयमा पनि राजदूतसँग नै कुरा गर्नुपर्ने कुरामा सुधार गर्ने छौँ ।

सबै महत्त्वपूर्ण निमन्त्रणाहरूलाई स्वीकार गरेर सबै ठाउँमा जान सकिने/नसकिने कुरालाई पनि समयमै अवगत गराउने छौँ ।

नतिजा आई नसकेका तर प्रक्रियामा रहेका बिषयहरूको आवधिक सूचना विभिन्न माध्यमबाट अपडेट गराउने छौँ ।

यस क्षेत्रमा रहनुहुने नेपालीहरूलाई सेवा सहयोग प्रदान गर्न हाम्रा अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरू पनि हरहमेसा क्रियाशील नै हुनुहुन्छ।

नेपाल र नेपालीहरूलाई सहयोग गर्न गैर-आवासीय नेपालीहरूका संस्थालगायत अन्य सङ्घ संस्थाहरूका मूल नेतृत्वहरूसँग म निरन्तर सम्पर्कमा रहनेछु ।

यहाँहरू ढुक्कसँग आ-आफ्नो पढाइ, काम गर्न सक्नुहुन्छ । हामी सबै मिलेर नेपाल र नेपालीको हितमा काम गरौँ ।

यति भन्दै म अहिले देहायका विषयहरूमा यहाँहरूको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।

१. यहाँहरू सबैजसोले मातृभूमिबाट विदेशी मुद्रा लिएर पढ्न आउनुभएको छ । यहाँ राम्रो गरिरहनुभएको छ । मुलुकमा अहिले विदेशी मुद्राको खाँचो पहिले भन्दा धेरै छ । यहाँहरूले दुःख गरेर कमाउनु हुन्छ । आफुले पसिना बगाएर कमाएको विदेशी मुद्रा आफ्नो घर परिवारलाई पठाउँदा जसरी तपाईँहरू नेपालबाट आउँदा Banking channel प्रयोग गरी विदेशी मुद्रा ल्याउनुभयो, त्यसैगरी मातृभूमिलाई सम्झेर Banking channel मार्फत् नै नेपालमा रकम पठाउनुहुन विशेष अनुरोध गर्न चाहन्छु ।

२. आफ्नो पासपोर्टको म्याद सकिने मिति (validity) आजै हेर्नुहोस् । Validity एक वर्षभन्दा कम हुने बित्तिकै नवीकरण (renew) को लागि apply गरिहाल्नुहोस् । समयमा passport बनेर आउँछ । थोरै म्याद बाँकी हुँदा अत्यास लाग्छ; प्रक्रिया लामो लाग्छ अनि सबैसँग रिस उठ्छ । website सँग पनि रिस उठ्छ। त्यसैले बेलैमा apply गरिदिनुस् । नमिलेको क़ुरा हामी पनि निरन्तर सुधार गर्दै जानेछौँ ।

३. यस क्षेत्रमा बस्नुहुने सम्पूर्ण नेपालीहरूलाई म समान रूपमा व्यवहार गर्नेछु । सबैजना मेरो निम्ति बराबर हुनुहुन्छ ।

४. बेलाबेलामा म तपाईँहरूसँग यसैगरी सम्पर्कमा रहने छु । सकारात्मक सोचका साथ अघि बढौँ ।

म यहाँहरू सबैसँग हातेमालो गरी नेपाल राष्ट्र र नेपालीको हित तथा नेपाल- अस्ट्रेलियाको सुमधुर सम्बन्ध अझ मजबूत बनाउने काममा निरन्तर लागि रहने छु ।

धन्यवाद ।

कैलाशराज पोखरेल

राजदूत, अष्ट्रेलिया

अगस्ट ४, २०२२