अमेरिकी सहायक विदेशमन्त्री नेपालमा, विरोधीहरु सडकमै पक्राउ परे

अमेरिकी सहायक विदेशमन्त्री नेपालमा, विरोधीहरु सडकमै पक्राउ परे


काठमाडौं । संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन् । बिहीबार अपराह्न अमेरिकी विदेशमन्त्री लु काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालस्थित अमेरिकी राजदूतावासका उच्च अधिकारीले स्वागत गरेका छन् ।

यसअघि गत मङ्सिरमा नेपालको भ्रमण गरिसकेका लुले दुई दिन नेपालमा विताउने कार्यक्रम छ । नेपालमा रहँदा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेटवार्ता गर्नेछन् । काठमाडौंमा हुने एक अवार्ड वितरण कार्यक्रममासमेत सहभागी हुने तय भएको छ ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू लाई कालो झण्डा देखाएको आरोपमा प्रहरीले गौशालास्थित पिंगलास्थानबाट ७ जनालाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विदेशमन्त्री लू को विरोधमा झण्डा देखाएका हुन् ।

पक्राउ पर्नेमा दाङ घर भएका ३४ वर्षीय प्रकाश शाहीसहित ७ जना छन् । शाही नेकपा ‘विप्लव समूह’को विद्यार्थी संगठनका अध्यक्ष हुन् । कैलाली घर भएकी ३१ वर्षीया तारा संज्याल, जुम्ला घर भएका रमेश रावत, कालिकोट घर भएका ललितजंग बम, कालिकोटकै अशोक महतरा, कैलाली घर भएका ३१ वर्षीय ललित विक र नेपालगञ्ज घर भएका प्रेम सिजापतीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाखुसी बस्ने तारा संज्याल नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनकी सचिवालय सदस्य हुन् । रमेश रावत विद्यार्थीका केन्द्रिय सदस्य र ललितजंग बम काठमाडौं जिल्ला इन्चार्ज हुन् । अशोक महतरा सो पार्टीको भक्तपुर जिल्ला इन्चार्ज हुन् ।