राजदूत पोखरेलले बुझाए अष्ट्रेलियाका गभर्नरलाई ओहोदाको प्रमाणपत्र

राजदूत पोखरेलले बुझाए अष्ट्रेलियाका गभर्नरलाई ओहोदाको प्रमाणपत्र


क्यानबेरा, अष्ट्रेलिया ।

अस्ट्रेलियाका लागी नवनियुक्त राजदूत कैलाश राज पोखरेलले गभर्नर जनरल डेभिड हर्ले समक्ष सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । न्यूजिल्याण्डका लागि समेत गैरआवासीय राजदूत पोखरेलले अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजना गरिएको एक औपचारिक कार्यक्रममा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् ।

समारोहमा गभर्नर जनरलले राजदूत पोखरेललाई यो जिम्मेवारीका लागि बधाई दिँदै उनको कार्यकालमा अस्ट्रेलिया र नेपालबीचको आपसी सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरेका थिए । उनले नेपालको विकासमा अस्ट्रेलियाको सहयोग भविष्यमा पनि निरन्तर रहने बताए।

जवाफमा राजदूत पोखरेलले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेर बहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश सुनाएका थिए । सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र अष्ट्रेलियाबीचको साझेदारीको निरन्तरता र दुई देशको सम्बन्धले नयाँ उचाइ पाउने कामना गर्नुभएको छ ।

उक्त अवसरमा राजदूत पोखरेलको सम्मानमा नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरिएको थियो भने गार्ड अफ अनर पेश गरिएको थियो । यो विशष समारोहमा सहभागी हुन अष्ट्रेलियाका अन्य विभिन्न राज्यमा रहेका अवैतनिक महावाणिज्यदूत, वाणिज्यदूतहरु सहभागी बनेका थिए ।