पूर्वयुवराज्ञी हिमानी अष्ट्रेलिया आउँदै, हिमानी ट्रष्टका कार्यक्रममा सहभागी हुने

पूर्वयुवराज्ञी हिमानी अष्ट्रेलिया आउँदै, हिमानी ट्रष्टका कार्यक्रममा सहभागी हुने


सिड्नी, अष्ट्रेलिया ।

हिमानी ट्रष्टकी संस्थापक पूर्वयुवराज्ञी हिमानी शाह अगष्ट महिनाको पहिलो साता हिमानी ट्रष्ट अष्ट्रेलियाको आयोजनामा हुन लागेका विभिन्न कार्यक्रममा सहभागी हुन अष्ट्रेलिया आउने हुनुभएको छ ।

हिमानी ट्रष्ट अष्ट्रेलियाको स्थापना सन् २०२१ को जनवरीमा गरिएको थियो । कोरोना लगायतका विविध कारणले यो भ्रमण सरेको थियो । हिमानी ट्रष्ट अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्कीले जनाए अनुसार अगष्ट १० तारिख पूर्वयुवराज्ञीले महिला सशक्तिकरण सम्बन्धी एक कार्यक्रममा सहभागिता जनाउने भएकी छिन् । यस कार्यक्रममा अतिथि वक्ताको रुपमा न्यूसाउथवेल्सकी महानगर सडक, महिला सुरक्षा र पारिवारिक हिंसा रोकथाम मन्त्री नटाली पेटा वार्ड सहभागी हुने बताइएको छ । कार्यक्रममा सहभागी हुनका लागि ७५ डलर प्रतिव्यक्ति प्रवेश शुल्क तोकिएको छ ।

यस्तै हिमानी ट्रष्टका अनुसार अर्को कार्यक्रम अगष्ट १२ तारिखका लागि राखिएको छ । न्यूसाउथवेल्सको पार्लियामेन्टहाउसमा रहेको स्ट्रेन्जर्स हलमा हुने यो फन्डरेजिंग डिनरमा सहभागी हुन १ सय ५० डलर शुल्क तोकिएको छ । अतिथिका रुपमा न्यूसाउथवेल्सका बहुसांस्कृतिक मन्त्री मार्क कुरे रहेका छन् ।

नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र कायम भएको समेत निकै वर्ष भइसकेको भएपनि कार्यक्रम आयोजक हिमानी ट्रष्टले भने हिमानी शाहलाई मात्र होइन कार्यक्रममा सहभागी अन्य शाहज्यादीहरुलाई पनि उनीहरुको तत्कालीन पद अनुसार नै सम्बोधन गरेको देखिन्छ । कार्यक्रममा सहभागी मन्त्रीहरु, अष्ट्रेलियामा रहेका नेपाल सरकारका प्रतिनिधिहरुले यसलाई कसरी लिएका छन् यो भने कार्यक्रममा हेर्न पाइनेछ ।