एक चलचित्र समिक्षकको नजरमा चलचित्र ‘दोख’

एक चलचित्र समिक्षकको नजरमा चलचित्र ‘दोख’


काठमाडौँ । चलचित्रको कथा सुरु हुन्छ दुई गाउँ भकुण्डे र सल्लेका गाउँलेको विवादबाट । सल्ले र भकुण्डे गाउँ दुवै चुथ्रे वनसँग जोडिएका छन् । सल्ले गाउँका गाउँलेलाई लाग्छ यो वन उनीहरूलाई सरकारले सित्तैमा दिएको हो तर यता वर्षौंदेखि जङ्गलमा घाँस र दाउरा काट्दै गरेका भकुण्डेका गाउँलेलाई पनि वन आफ्नै हो भन्ने हुन्छ । एक दिन जङ्गलमा रुखमा चढेर स्याउला निकालिरहेका भकुण्डेका केटालाई सल्ले गाउँका केटाको समूहले नराम्रोसँग कुट्छन् र उप्रान्त जङ्गलमा देखा नपर्न धम्कीसमेत दिन्छन् । 

गाउँमा सशक्त युद्ध गरिरहेका कमान्डर सङ्गीत (सुरज मल्ल)कहाँ यो कुरा पुग्छ र उनले दुई गाउँबीचको विवादको समाधान फुटबलबाट मात्र हुन सक्ने निष्कर्ष निकाल्छन् । दुई गाउँबीच फुटबल प्रतिस्पर्धाको घोषणा गरिन्छ । यसपछि सुरु हुन्छ चलचित्रमा फुटबलको कथा । दुवैबीच फुटबल जसले जित्छ उसैले वन उपभोग गर्न पाउने सर्त हुन्छ । यता नयाँ मास्टर रोनित (मनीष निरौला) पनि गाउँ छिरेका छन् । उनी किन गाउँ प्रवेश गरेका हुन् र उनको गाउँ प्रवेश गर्न‘ मुख्य उद्देश्य के हो भन्ने कुराले पनि चलचित्रमा ठूलो मान्यता राख्छ । 

चलचित्र फुटबलको मात्र कथा होइन । यो कथा हो द्वन्द्वकालीन कालखण्डको । सशस्त्र युद्धका कारण मान्छेको जीवनशैलीमा आएको उतारचढावको कथा हो ‘दोख’ । चलचित्रले तत्कालीन समयको युद्ध मनोविज्ञान, मनोदशा र प्रभावलाई चलचित्रमार्फत उजागर गर्न खोजिएको छ । द्वन्द्वकालमा गरिने कारबाही, सामाजिक विद्रोह, बदलाको भाव र युद्धको बीभत्सता चलचित्रमा देखिन्छ ।

चलचित्रमा द्वन्द्वबाहेक माया–प्रेमलाई पनि चोटिलो ढङ्गबाट प्रस्तुत गर्न खोजिएको छ । चलचित्रकी नायिका रुक्की (दीया मास्के)का श्रीमान् गाउँ छाडेर गएको वर्षौँ भइसकेको छ । रक्की भने गाउँमा भट्टी चलाएर जीविका चलाइरहेकी छिन् । आफ्नी सानी छोरीको हेरचाहमा उनको जीविका चलिरहेको छ । भट्टी चलाएर जीविकोपार्जन गरिरहेकी उनीसँग गाउँमा हिमचिम बढाउन चाहने पनि धेरै नभएका होइनन् तर उनले कहिले आफ्नो अस्तित्वमाथि आँच आउने काम गरिनन् ।

यता मास्टर रोनित र रक्कीबीच भित्रभित्रै प्रेमको आगो बलेको हुन्छ तर दुवैले त्यो प्रेमलाई अभिव्यक्त गर्न सकेका हुँदैनन् । दुवैले आफ्नो मनलाई सह्मालेर राखेका छन् तर यति हुँदाहुँदै पनि दुवैलाई सम्बन्धमा बसेको भनेर आरोप लगाइन्छ । सम्बन्ध नरहँदानरहँदै पनि दुवैले भाटे कारबाही भोग्नुपर्छ ।

रक्कीको श्रीमान् विदेशबाट फर्किएपछि गाउँमा श्रीमतीमाथि लागेको आरोपको हल्ला सुनेर उनी श्रीमतीमाथि हातपात गर्न पनि पछि हट्दैनन् । यता श्रीमान्को पिटाइ खानुपरेको पीडाले रक्की श्रीमान्सँग विद्रोहमा उत्रने जमर्को गर्छिन् । फुटबल, युद्ध र मायाप्रेममा नै चलचित्र घुमेको छ । 

फुटबलसँगै निर्देशक अनुप बराल चलचित्रमा युद्ध र मायाप्रेमलाई पनि राम्ररी पस्केका छन् । चलचित्रमा उनको निर्देशकीय क्षमता बेजोड देखिन्छ । मास्टर रोनितको भूमिकामा देखिएका मनीष निरौलाको अभिनय प्रशंसायोग्य छ । छोटो भूमिकामा देखिएका माओत्से गुरुङले गरेको घनश्यामको चरित्रलाई हामीले भुल्न हुँदैन । अभिनेत्री दिया मास्के रुक्कीको भूमिकामा सशक्त देखिएकी छिन् । चलचित्रमा धेरै पात्र देखिएका छन् र ती सबै पात्रले आ–आफ्नो अभिनयमा न्याय गरेका छन् । समग्रमा कथादेखि लिएर सबै हिसाबले चलचित्रले दर्शकको मन अवश्य जित्न सक्छ । – सुकृत नेपाल