न्याभको साधारणसभा, ६ जना उपाध्यक्ष बनाउने निर्णय पारित !

न्याभको साधारणसभा, ६ जना उपाध्यक्ष बनाउने निर्णय पारित !



मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको संस्था नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभले शनिबार सम्पन्न साधारणसभाबाट ६ जना उपाध्यक्ष रहने व्यवस्था पारित गरेको छ । अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरमा अपरान्ह ४ बजेदेखि भएको साधारणसभामा अनलाईन माध्यमबाट पनि सदस्यहरु जुटेका थिए । न्याभले साधारणसभामार्फत सभापति एकिन्द्र तिमल्सिना र कोषाध्यक्ष यज्ञराज जोशीको प्रतिवेदनहरु पारित गरेको छ ।
विधानका प्रावधानहरुमा व्यापक संशोधन गर्नका लागि प्रस्ताव गरिएको उपाध्यक्ष सुदिप श्रेष्ठको प्रस्ताव पनि अधिवेशनले पारित गरेको संस्थाका अध्यक्ष एकिन्द्र तिमल्सिनाले केविसीखबरलाई जानकारी दिए ।

उनका अनुसार संशोधित नयाँ विधान अनुसार उपाध्यक्ष बाल चौतारी, उपाध्यक्ष महिला, उपाध्यक्ष समूदाय संलग्नता र मानवीय मामिला, उपाध्यक्ष स्पोर्टस चौतारी, उपाध्यक्ष मिडिया र मेलबर्न चौतारी रहनेछन् । यस बाहेकपनि कार्यकारी उपाध्यक्षका रुपमा एकजना समेत रहने व्यवस्था गरिएको छ । संशोधित विधान अनुसार आगामी वर्ष हुने निर्वाचनमा उपाध्यक्षहरुको चयन गरिनेछ । यससँगै कार्यसमितिको प्रमुख पदमा ९ जना र कार्यसमिति सदस्यहरुमा ८ जनाको कूल कार्यसमिति बन्नेछ ।

कार्यक्रममा संस्थापक अध्यक्ष डा. राजु अधिकारी, सचिव तेज कार्की लगायतले पनि आफ्नो धारणा राखेका थिए । भिक्टोरियामा बसोबास गर्ने २५ हजारभन्दा बढी नेपालीको साझा संस्था भनिएपनि सदस्यताको हिसाबले न्याभ निकै कमजोर मानिएको छ । विधान संशोधन गरेर भएपनि सबैलाई समेट्ने प्रयास भएको बताइएपनि यसको नतिजाले संस्थाले लिएको नीतिको स्वीकार्यता मापन गर्न सकिने अपेक्षा छ ।