भोलिबाट अन्तर्राष्ट्रिय यात्रीलाई अष्ट्रेलिया आउन थप खुकुलो, अब कोभिड खोप कार्ड देखाउन नपर्ने !

भोलिबाट अन्तर्राष्ट्रिय यात्रीलाई अष्ट्रेलिया आउन थप खुकुलो, अब कोभिड खोप कार्ड देखाउन नपर्ने !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाले आफ्नो सिमाना अन्तर्राष्ट्रिय यात्रीलाई खुलाएदेखि लागू गरिएको डिजिटल प्यासेन्जर डिक्लेरेसन फर्म हटाउने भएको छ । ६ जुलाईबाट लागू हुनेगरी यस्तो नियम लागू गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले प्रष्ट पारेको छ ।

यससँगै कोरोना विरुद्धको खोप लगाएको अनिवार्य कार्ड प्रस्तुत गर्नुपर्ने नियम पनि बुधबारबाट नै हट्दैछ । आफ्नो सुरक्षाका लागि खोप लगाउन वा नलगाउन सकियो तर त्यही कारण अष्ट्रेलिया प्रवेशमा निषेध गरिने स्थिति भने अन्त्य भएको हो ।

सरकारले विशेष परिस्थितिमा लागू गरेको बायोसेक्युरिटी ऐनको निर्धारित मिति सकिएसँगै यस्तो प्रावधान लागू हुन लागेको हो । यही ऐनमा टेकेर सुरक्षाकर्मी र सीमा रक्षकहरुले डिजिटल फर्म नभरेका व्यक्तिहरु र कोरोना विरुद्ध पूर्ण खोप लगाएको प्रमाण नपुगेकाहरुको भिसा रद्द गर्ने, उनीहरुलाई फिर्ता पठाउनेसम्मको काम गर्दै आएका थिए ।

आन्तरिक मामिलामन्त्री क्लेर ओनीलले यो परिवर्तनपछि अष्ट्रेलिया आउने यात्रीहरुको लागि सहज हुने र यहाँ अन्तर्राष्ट्रिय पर्यटकहरुको चहलपहल बढ्ने अपेक्षा आफुहरुले गरेको बताएका छन् । यस्तै अष्ट्रेलियामा हालदेखिँदै आएको कामदारको अभाव पनि विस्तारै हट्दै जाने अपेक्षा उनले गरेका छन् ।