नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौं आइपुगे

नेपालका लागि नयाँ भारतीय राजदूत श्रीवास्तव काठमाडौं आइपुगे


काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्री नवीन श्रीवास्तव काठमाडौं आईपुगेका छन् । शनिबार अपरान्ह काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

काठमाडौँमा जिम्मेवारी लिन आउनु अघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन् ।

राजदूत श्रीवास्तवले राष्ट्रपति बिद्या भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सुरु गर्नेछन् । भारतले नेपालमा सदैव कुटनीतिक महत्वका व्यक्तिलाई यो जिम्मेवारीमा पठाउने गरेको छ । यसअघिका राजदूतहरु कतिपय अहिले भारतीय उच्च जिम्मेवारीमा छन् । यसअघिका राजदूत नै यतिबेलाका भारतीय विदेश सचिव समेत रहेका छन् ।