रवि लामिछानेको पार्टीलाई स्वतन्त्र अभियानले लगायो गम्भीर आरोप, निर्वाचन आयोगमा उजुरी

रवि लामिछानेको पार्टीलाई स्वतन्त्र अभियानले लगायो गम्भीर आरोप, निर्वाचन आयोगमा उजुरी



काठमाडौं । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनविरुद्ध उजुरी परेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लामिछानेले पार्टी दर्ताका लागि आयोगमा दिएको निवेदनविरुद्ध दुई उजुरी परेको जानकारी गराएका छन् ।

मङ्गलबार लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए ।

स्वतन्त्र उम्मेदवार अभियानका संयोजक इम्बर शाहुले आयोगमा उजुरी दिएका हुन् । संयोजक शाहुको उजुरीमा स्वतन्त्र शब्द हटाउन माग गरिएको छ ।
‘‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।,’’ उजुरीमा लेखिएको छ ।

मा दिनेशकुमार थपलियाज्यू,
प्रमुख निर्वाचन आयुक्त
निर्वाचन आयोग नेपाल कान्तिपथ, काठमाडौं
विषय स् उजुरी दिईएको बारे
उपरोक्त विषयमा हिजो मिति २०७२ असार ७ गते विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचार र निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार पूर्व पत्रकार रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी दर्ताको लागि निवेदन दिएको भन्ने कुरामा ‘स्वतन्त्र उम्मेदवारी अभियान’को गम्भीर ध्यानाकर्षण हुनुका साथै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा सङ्घीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह÷संस्थालाई गम्भीर आघात पुगेको छ ।
संविधानमा कुनै पनि व्यक्ति, समूह र संस्थाहरू कुनै राजनैतिक पार्टीमा आवद्ध नरहेर स्वतन्त्र रहुन र निर्वाचनमा स्वतन्त्रकै रुपमा आफ्नो उम्मेदवारी दिन पाउने सार्वभौम अधिकारको व्यवस्था छ । कनै पनि व्यक्तिले राजनैतिक पार्टीमा आवद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने गरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्योल उत्पन्न भएको छ ।
स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टी प्रतिको वितृष्णा तथा निर्वाचनको मतपरिणाम र स्वतन्त्रप्रतिको बढ्दो आकर्षणलाई आफ्नो मुठ्ठीमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरवादीलाई आम मतदाता, नागरिक समाज, मिडिया एवम् सरोकारवालाहरूले चिन्नु अति आवश्यक छ । परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरू राजनीतिमा आउनु स्वागतयोग्य रहे पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरूले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि दिएको निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु । साथै, स्वतन्त्र उम्मेदवार अभियान, अभियान्ता र देशैभरिमा स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन–सहकार्य नरहेकोसमेत जानकारी गराउँदछु ।

इम्बर शाहु
संयोजक
स्वतन्त्र उम्मेदवारी अभियान