श्रम मन्त्री किसानको सम्पत्ति कति ?

श्रम मन्त्री किसानको सम्पत्ति कति ?


काठमाडौं, २६ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्री नियुक्त हुनुभएको चार दिनमै उहाँले सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो ।

विवरणअनुसार मन्त्री श्रेष्ठको प्रशस्त जग्गा–जमीन र धनदौलत देखिएको छ । उहाँले विवाहमा २० तोला सुन लिएको विवरणमा उल्लेख गर्नुभएको छ । योसमेत उहाँसँग ७० तोला सुन रहेको छ ।

मन्त्री श्रेष्ठको काठमाडौंका तीन स्थानमा जग्गा छन् । ती जग्गाको खरिद मूल्य श्रेष्ठले विवरणमा उल्लेख गर्नुभएको छ । काठमाडौँ महानगरपालिका–९ मा कित्ता नम्बर ११४ मा ०–८–०–० क्षेत्रमा भएको जग्गा उहाँले ७४ लाख ७५ हजार २५६ रुपैयाँ ९९ पैसामा खरिद गर्नुभएको थियो ।

त्यस्तै काठमाडौँ–३ मा कित्ता नम्बर १०८ मा ४२९.१४ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ३९ लाख रुपैयाँ रहेको छ भने काठमाडौँ–१ मा कित्ता नम्बर २१५१, २१५२, २२२७ र २४९४, ०–८–३–३ क्षेत्रमा रहेको जग्गाको खरिद मूल्य ६९ लाख रहेको विवरणमा उल्लेख छ ।

मन्त्री श्रेष्ठका काठमाडौंमै दुईवटा घर छन् । काठमाडौँ महानगरपालिका–३ मा साढे दुई तलाको घर छ भने काठमाडौँ–९ धापासीमा सात तलाको व्यवसायिक घर रहेको छ । हाल मौज्दातमा रहेको घर तथा जग्गा जम्मा ९ करोड ६९ लाख ७३ हजार ५० रुपैयाँ मूल्य बराबरको रहेको उल्लेख छ ।

उहाँले सेयरमा पनि ठूलो रकम लगानी गर्नुभएको छ । विभिन्न कम्पनीमा उहाँको २ करोड १७ लाख, २४ हजार ४०० मूल्य बराबरको सेयर लगानी रहेको विवरणमा उल्लेख छ । यस्तै, उहाँले २० वटा व्यावसायिक कम्पनीमा १४ करोड ५६ लाख २६ हजार मूल्य बराबरको लगानी गर्नुभएको छ ।

श्रेष्ठले आठ बैंकमा खाता खोलेर रकम जम्मा गर्नुभएको छ । श्रेष्ठका अनुसार प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई, सिभिल बैंक, एमरेष्ट बैंक र नेपाल बङ्गलादेश बैंकमा उहाँका खाता छन् । त्यस्तै उहाँकी श्रीमतीका नाममा ग्लोबल आइएमई, एनएमबी र नबिल बैंकमा खाता रहेको विवरणमा उल्लेख छ । नेपालमा सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।