खुल्यो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, ७ को गज्जब कम्बिनेसन

खुल्यो रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी, ७ को गज्जब कम्बिनेसन


काठमाडौं ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा आयोजना गरिएको एक भेलामार्फत आफ्नो दलका सात नीति सार्वजनिक गर्दै लामिछानेले पार्टीको अधिवेशन निर्वाचन सकिएको एक वर्षभित्र गर्ने पनि घोषणा गरे । निर्वाचन आयोगमा दर्ता प्रयोजनका लागि २१ जनाको टिम बनाएर आफुहरु गएको लामिछानेले बताएका छन् । समाजले नचिनेका तर समाजलाई चिनेका व्यक्तिहरु यो पहिलो टिममा रहेको उनको भनाई थियो । निर्वाचन आयोगमा लामिछानेको स्वतन्त्र पार्टीले आफ्नो चुनाव चिन्हका रुपमा घन्टीलाई प्रस्ताव गरेको छ ।

संवैधानिक समाजवादलाई आफ्नो पार्टीको मूल नीति मानेको पार्टीले व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न चाहेको जनाएको छ । विभिन्न राजनीतिक दलका नेताहरुसँग कुराकानी भएपनि ति दलहरुमा नजाने घोषणा पनि लामिछानेले गरेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको लागि पहल गर्नेछ भने पार्टीको आन्तरिक चुनावमा पनि प्रधानमन्त्रीको उम्मेद्वारका लागि प्रतिस्पर्धा गर्ने र त्यसै प्रतिस्पर्धाका आधारमा निर्वाचनमा उम्मेद्वारी दिन पाइने बताइएको छ । कार्यकर्तावाहक पार्टी होइन सदस्यवाला पार्टी हामीले बनाएका छौं, लामिछानेले सभागृहमा आयोजना गरिएको कार्यक्रममा घोषणा गरे ।

पार्टीको विशेषता
१. प्रारम्भिक निर्वाचन
२. बहुसंख्यक युवा
३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री
४. राईट टु रिकल एन्ड राईट टु रिजेक्ट
५. डिजिटल डेमोक्रेसी
६. परिवारवाद निषेध
७. भ्रातृ संगठन र कार्यकर्तारहित

नेपालको राष्ट्रिय झण्डा पृष्ठभूमिमा राखेर कार्यक्रम आयोजना गरेका उनले गलामा पनि राष्ट्रिय झण्डा नै बेरेका थिए । पार्टीको नाम सार्वजनिक गर्दा समेत राष्ट्रिय झण्डालाई नै उनले छेउमा राखेका थिए भने पार्टीको आधिकारिक लोगोमा भने घण्टीको वरिपरि सात वटा तारा देख्न सकिन्छ ।

घोषणाका लागि असार ७ गते नै रोजेको स्वतन्त्र राष्ट्रिय पार्टीले आफ्नो चुनाव चिन्हको वरिपरि सातवटा तारा राखेर, सात बुँदामा आफ्नो प्रतिबद्धताहरु सार्वजनिक गरेको थियो । जसमा परिवारवादलाई पूर्णत निषेध गर्ने बुँदा समेत समेटिएको छ ।
कुनै पार्टीको पदमा भएको व्यक्ति आफन्त भएकै आधारमा अर्को व्यक्तिले नियुक्ति पद लाभको सुविधा नपाउने जिकिर रविले कार्यक्रममा गरेका छन् ।