Logo

नजानिँदो पारामा दर्शक तान्दै चिसो मान्छे, शवको यात्रा र परिवारको हाल



काठमाडौँ । चलचित्र ‘चिसो मान्छे’ले एउटा बूढो बाबु ९देशभक्त खनाल०को कथा बोकेको छ । जसले आफ्नो छोराको कतारको मरुभूमिमा मृत्यु भएपछि उसको लासलाई घरसम्म पु(याउन के कस्तो सङ्घर्ष गर्छन् भन्ने कुरा दर्शाउँछ ।

काठमाडौँ विमानस्थलमा कतार, मलेसिया, दुबई जस्ता खाडी मुलुकमा काम गर्न गएकाहरूको कथा–व्यथा चलचित्रमा पस्किने जमर्को गरिएको छ । खाडी मुलुकमा श्रमिकहरूको विविध कारणले निधन भएको भन्ने खबर हामी बारम्बार सुन्छौँ । घरबाट छोरा केही गर्छु भन्ने सोच बोकेर खाडी मुलुक हुइँकिएको हुन्छ तर आखिरमा जीवित नभएर रातो बाकसमा शरीर फिर्ता पठाइन्छ । कति ठूलो सपना बोकेर उनीहरू विदेसिएका हुन्छन् ।

छोराले धेरथोर पैसा कमाएर ल्याउँछ भन्ने सोचले आमाबुवा ठूलो आसमा बसेका हुन्छन् तर ती सपना तब चुँडिन्छन् जब उनीहरूको लास फिर्ता आउँछ । चलचित्रको ‘चिसो मान्छे’को कथा पनि यही सेरोफेरोमा रचिएको छ ।

कोरोनाको समय छ विमानस्थलमा बन्द रातो बाकसमा एउटा शव कतारको मरुभूमिबाट काठमाडौँ ल्याइन्छ । जुन शवलाई काठमाडौँबाट बाजुरासम्म पु(याउनुछ । देशमा कोरोना महामारीको चाप बढ्दो छ । कसैलाई आवतजावत गर्न दिइएको छैन । यस्तो बेला पनि ती बुवाले कसरी आफ्नो छोराको लास बाजुरासम्म पु-याउँछन् भन्ने कुरा नै चलचित्रको प्रमुख कथा हो ।

यो कथा हो काठमाडौँबाट बाजुरासम्मको शवयात्राको । सुदूरपश्चिमको बाजुरा बजारबाट मृतकका बाबु र मृतककी श्रीमती ९स्वस्तिमा खड्का० उक्त शव लिनका लागि काठमाडौँ आइपुगेका छन् । त्यहाँ उनीहरूको भेट पिक–गाडीचालक ९अर्पण थापा०सँग हुन्छ जसले भाडाबापत केही पैसा लिएर उनीहरूलाई बाजुरासम्म पु-याउने वाचा गर्छन् ।

सबैतिर कोरोना महामारी फैलिएको हुँदा कतारबाट ल्याइएको शव पनि कोरोनाबाट नै मृत्यु हो कि भन्ने सबैको मनमा शङ्का उब्जिएको हुन्छ तर उनको मृत्यु कोरोनाबाट नभएर हृदयघातको कारणले भएको हुन्छ । उक्त शव बुझ्न उनकै श्रीमती, मृतकका बुवा र पिक–अपका चालक विमानस्थल पुगेका छन् । जब ती बुवाले आफ्नो छोराको शव बुझ्ने काम गर्छन् तब उनी आफ्नो मनभित्र भक्कानिएको पीडालाई रोक्न सक्दैनन् ।

यता छमहिने छोरी छाडेर कोरोनाका कारण श्रीमतीको मृत्युले बीभत्स भएका पिक–अपका चालकको पीडा पनि चलचित्रको कथाभित्र रुमल्लिएको छ । चालक आफ्नी छोरीलाई काठमाडौँमा भाडामा बस्ने बहिनी–ज्वाइँका साथमा छाडेर रोजीरोटीका लागि बाजुराको यात्रा गर्छन् । उनको त्यही शव बोकिरहेको गाडी पनि बैङ्क धरौटीमा छ । उनलाई बैङ्कबाट बारम्बार किस्ता तिर्नका लागि फोन नआएको पनि होइन तर त्यसलाई उनी टारेर बसिरहेका हुन्छन् ।

चलचित्रमा आफ्नो श्रीमानको शव बुझ्न आएकी श्रीमतीको आफ्नो श्रीमानप्रति सद्भाव, संवेदना कतै देखिँदैन । यस्तो लाग्छ उनी आफ्नो श्रीमानको शव बुझ्न होइन कि आफ्नो स्वतन्त्रताका लागि काठमाडौँ आएकी हुन् । जीवनको कष्टकर क्षणमा पनि उनले श्रीमानको साथ पाउनुको साटो केवल उनलाई सम्झनु मात्र हुन्थ्यो । उनका लागि उनका श्रीमान् सधैँ ‘चिसो मान्छे’ थिए ।

सन्तान हुनुको दुःख, गरिब हुनुको दुःख, राजनीति र परिवर्तनका नाममा आएको दुःख । यो कस्तो दुःखैदुःख, छोराको बाबुको मनमा शवसामु बहकिएको यो शब्द तब बाहिर निस्कन्छ जब उनले पिएका हुन्छन् ।

चलचित्र तीन पात्रमा वरिपरि घुमेको छ । यी तीन पात्रको अभिनय शक्तिशाली छ । नायिका स्वस्तिमा खड्का र अभिनेता देशभक्त खनालले बोलेको कर्णाली लवजको शैली एकदमै सुहाएको छ । उनीहरूले पहिरिएको पहिरनले पनि चलचित्रमा धेरै मान्यता राख्छ । चालकको भूमिकामा देखिएका कलाकार अर्पण थापाको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ ।

उनी प्रेम, आवेग र आक्रोशमा एकदमै फिट देखिन्छन् । अन्य कलाकार आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसीको भूमिकालाई राम्रै भन्नुपर्छ । चलचित्रको गीत–सङ्गीतले पनि अवश्य नै दर्शकको मन जित्छ ।

प्रेम र वियोग, संवेग र संवेदनाको कथा पस्कने हकमा निर्देशक दीपेन्द्र के खनाल धेरै माथि छन् । उनले लेखेको चिसो मान्छेको कथाले यस पटक धेरैको आँखा रसाउनेछ । चलचित्र ‘पशुपति प्रसाद’पछि ‘चिसो मान्छे’ले निर्देशक खनाललाई अर्को ठूलो खुड्किलो उकालिदिएको छ । – सुकृत नेपाल