आफैंले पसल खोलेको छैन । झोलामै जडीबुटी लिएर गाउँ–बस्ती डुल्छु । धेरैजसो बसपार्क नजिक बसेर सामान बेच्छु । गनानो, सतुवा, कालोनुन, मुलेठी, भूतकेश, सिलाजित… मैले बिक्री गर्ने मुख्य बुटी हुन् । दार्चुलाको खण्डेश्वरी पुगेर जडीबुटी ल्याउँछु । त्यहाँका सौका, भोटेहरू हिमालको कठ्यांग्रिने हिउँमा पाइला टेकेर ती अनमोल जडीबुटी संकलन गर्छन् । उनीहरूसँग एकपटकमा १०–१५ हजारसम्मका जडीबुटी किनेर झोलामा हाल्छु । डडेल्धुरा फर्किएर जडीबुटी बेचिसकेपछि फेरि खरिद गर्न जान्छु । १०/१५ हजारका सामान ल्याएर यहाँ बिक्री गर्न मलाई एक महिना लाग्छ । पहिला कमाइ राम्रो थियो । जडीबुटीको माग थियो र त बिक्री पनि सजिलै हुन्थ्यो । एक दिनमा हजार–बाह्र सय बचत हुन्थ्यो । अचेल बुढापाकाले जडीबुटी बढी रुचाउँछन् । गाउँभरि डुलाउँछु र साँझ कोठामै फर्किन्छु । कहिलेकाहीँ घर फर्किंदा खल्तीमा पैसा होइन, सुगन्धित जडीबुटी र पसिनाको गन्धमात्रै बाँकी रहन्छ । अहिले व्यापारी धेरै भइसके, ग्राहकको आँखा रेटको खोजीमा अल्मलिन्छ । कमाइ घट्दै गएको छ ।
प्रतिक्रिया