पाकिस्तानले पनि भारतमाथि यस्तै आरोप लगाएको छ । २५ वटा भारतीय ड्रोन खसालेको दाबी पाकिस्तानले गरेको छ । दुवै देशले गरेको दाबीको स्वतन्त्र रूपमा पुष्टि भने हुन सकेको छैन ।
भारतको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर पाकिस्तानले ड्रोन प्रयोग गरेर अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायत उत्तरी र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानहरूमा आक्रमण गर्ने प्रयास गरेको जनाएको छ । भारतको रक्षा मन्त्रालयले पाकिस्तानका यी आक्रमणहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड तथा वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको बताएको छ । पाकिस्तानी ड्रोनका भग्नावशेषहरू धेरै स्थानबाट बरामद भइरहेको र यसले आक्रमण पाकिस्तानले गरेको प्रमाणित गर्ने भारतको रक्षा मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । भारतले पनि पाकिस्तानलाई उस्तै शैलीमा जवाफ दिएको दाबी विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिअनुसार भारतको सशस्त्र सेनाले बिहीबार बिहान पाकिस्तानका धेरै स्थानहरूमा रहेको वायु रक्षा राडार तथा प्रणालीहरूलाई निसाना बनाएको थियो । “विश्वसनीय जानकारीअनुसार लाहोरमा एक वायु रक्षा प्रणाली नष्ट गरिएको छ,” भारतको रक्षा मन्त्रालयले दाबी गरेको छ । भारतले मे ७ मा ‘अपरेसन सिन्दूर’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई लक्षित नगरिएको बताएको थियो । भारतीय रक्षा मन्त्रालयले बिहीबार भारतीय सैन्य प्रतिष्ठानहरूमा हुने कुनै पनि आक्रमणको उचित जवाफ दिने जनाएको छ ।
प्रतिक्रिया