विद्युतको हाईटेन्सन टावरमा चढेकी किशोरीको उद्धार, परिवारको जिम्मा लगाइयो

विद्युतको हाईटेन्सन टावरमा चढेकी किशोरीको उद्धार, परिवारको जिम्मा लगाइयो



सर्लाही । सर्लाहीको कविलासी नगरपालिका–२, पिपरियामा विद्युतको हाइटेन्सन लाइनको टावरमा चढेकी युवतीको बिहीबार साँझ अबेर सकुशल उद्धार गरिएको छ ।

पिपरिया गाउँदेखि करिव ५०० मिटर पूर्वतर्फ पर्ने नवलपुर–सलेमपुर १३२ केभी लाइनको टावरमा चढेकी कविलासी नगरपालिका–७, सिर्सिया गाउँका बिसुन माझीकी छोरी राधे माझीलाई सुरक्षाकर्मीले सकुशल तल उतारेका हुन् । तलबाट बारम्बार बोलाउँदासमेत उत्रन इन्कार गरेपछि ‘माउन्टेन वारफेर’ ९कठीन प्रकारको उद्धार० तालिम प्राप्त नेपाली सेना र सशस्त्र प्रहरीले ‘रोप’ को माध्यमबाट उद्धार गरेको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० अमरबहादुर खत्रीले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी टावरमा चढेर युवतीलाई क्याराबिना र हार्नेस ९सुरक्षा बेल्ट उपकरण० को सहायताले काँखमा हालेर बाँधेर तल झारिएको सशस्त्र प्रहरीका एसपी खत्रीले बताउनुभयो । युवती हाइटेन्सन लाइनको टावरमा चढेको सूचना पाएपछि सशस्त्र प्रहरीका एसपी खत्री र सर्लाहीस्थित नेपाली सेनाको कालीध्वज गणका गणपति ९कर्णेल० उमेश खड्का आफै उद्धारस्थलमा पुग्नुभएको थियो ।

उद्धार गरिएको किशोरीलाई बुधबार साँझ नै परिवारको जिम्मा लगाइएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले परिवारले उनमा मानसिक समस्या रहेको बताएको जानकारी दिएका छन् ।
युवती हाइटेन्सन लाइनको टावरमा चढेको जानकारी प्राप्त हुनासाथ तत्कालै विद्युत काटिएकाले अप्रिय घटना भने टरेको छ ।