अष्ट्रेलिया र चीनका रक्षामन्त्रीको भेट, दुईवर्षदेखिको डेडलक तोडिएला त ?

अष्ट्रेलिया र चीनका रक्षामन्त्रीको भेट, दुईवर्षदेखिको डेडलक तोडिएला त ?


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग सिंगापुरमा भेट गरेका छन् । विगत दुई वर्षभन्दा लामो समयदेखि चीसो बनेको सम्बन्धलाई सुधार्न यो भेट सहयोगी बन्ने अपेक्षा छ । सिंगापुरमा भइरहेको सांग्रिला सेक्युरिटी समिटमा सहभागी दुबै देशका रक्षामन्त्रीहरुले गरेको यो भेटलाई यस क्षेत्रमा अर्थपूर्ण रुपमा लिइएको छ । अष्ट्रेलियाको सबैभन्दा ठूलो आयात साझेदार चीनसँग गएको जनवरी २०२० देखि नै सम्वादहीनताको अवस्था थियो ।

मुख्यतः कोभिड १९ कोरोनाको श्रोतका सम्बन्धमा अमेरिकी दावी र यसको छानविन गर्नका लागि अष्ट्रेलियाको मागका कारण सम्बन्ध बिग्रिन सुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनले कोभिडको उद्गम चीन भएको भन्दै छानविन गर्नुपर्ने माग गरेपछि स्थिति झन बिग्रिएको थियो ।

पछिल्लो समय चीनको एउटा युद्धक विमानले अष्ट्रेलियाको युद्धक विमानलाई पिछा गरेपछि यो घटना झन् बढी तनावको कारण बनेको थियो । अष्ट्रेलियाका रक्षामन्त्री मार्लेसले भेट उत्साहजनक रहेको बताएका छन् । उनले यो सम्वेदनशील पहिलो कदम भएको पनि बताएका छन् ।

अष्ट्रेलियामा अल्बानिजी नेतृत्वको सरकार आएपछि चीनसँगको सम्बन्ध सुधार हुने अपेक्षा धेरैले गरेका छन् । चीनसँगको सम्बन्ध बिग्रिदा अष्ट्रेलियाको अर्थतन्त्रमा निर्यात घटेको छ भने आयातका लागि पनि अन्यत्रको विकल्प प्रयोग गर्दा सामानहरुको मूल्यबृद्धि भएको छ । चीनबाट अन्तर्राष्ट्रिय विद्यार्थी आउने क्रम पनि निकै कम रहेको आंकडाहरुले देखाएका छन् ।