मेलबर्नमा फिने अष्ट्रेलियाको अविस्मरणीय कार्यक्रम ‘एनडीआईएस विजनेस अनलक्ड’

मेलबर्नमा फिने अष्ट्रेलियाको अविस्मरणीय कार्यक्रम ‘एनडीआईएस विजनेस अनलक्ड’



मेलबर्न, अष्ट्रेलिया ।

फेडरेसन अफ ईन्टरनेशनल नेपाली युथ अन्टप्रेनर्स फिने अष्ट्रेलियाले मेलबर्नमा नेशनल डिसेविलिटी ईन्स्युरेन्स स्कीम (एनडीआईएस) क्षेत्रसँग सम्बन्धित रहेर एक कार्यक्रम सम्पन्न गरेको छ । एनडीआईएस विजनेस अनलक्ड कार्यक्रम आयोजना गरेको फिनेले एनडीआईएस क्षेत्रमा आउन चाहने र यसमा काम गरिरहेकाहरुलाई वर्तमान र भविष्यका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको थियो । मेलबर्नमा शुक्रबार साँझ भएको कार्यक्रममा सय जनाभन्दा बढी यस क्षेत्रमा कार्यरत युवा उद्यमीहरु सहभागी थिए ।

उक्त अन्तरक्रिया कार्यक्रममा कार्यपत्र पेश गर्दै यस क्षेत्रमा देखिएका चुनौती र अवसरको चर्चा गरिएको थियो । कार्यक्रममा एनडीआईएस क्षेत्र र सम्भावनाहरु विषयमा भुवन खड्का, एनडीआईएस कम्प्लायन्स रिस्क एण्ड रेगुलेटरी एप्रोच विषयमा उषा गुरुङ, एनडीआईएसको भविष्य र परिवर्तित प्रावधानहरुका विषयमा बासुदेव मरहठ्ठा, सफलताका लागि सहकार्य विषयमा सविना सिलवाल, एसईओ डिजिटल प्रिजेन्स अफ एनडीआईएस विजनेस विषयमा साम कँडेल, एसडीए ईन्भेष्टमेन्ट अपच्यूनिटी विषयमा संयुक्ता आचार्य, एसडीए ईन्भेष्टमेन्ट बिल्डर्स प्रोस्पेक्टिभका विषयमा ब्रुस ब्रुम्ली र स्पोन्सरशिप एण्ड डामा अपच्र्युनिटी फर एनडीआईउस विषयमा शम्भु कँडेलले आफ्नो प्रस्तुति दिएका थिए ।

सरकारी तवरमा अनुगमन हुने क्षेत्र भएकोले यसमा आउनु अघि अध्ययन र विज्ञ परामर्शमा लगानी गर्न सुझाव दिइएको थियो भने आगामी जुनपछि दर्ता नभएका एनडीआईएस कम्पनीहरुलाई आइपर्ने परिवर्तित नियमावलीका विषयमा विशेष चर्चा भएको थियो ।
एनडीआईएसको क्षेत्रमा उल्लेख्य सफलता हासिल गरिसकेका अनुभवी वक्ताहरुले सरल भाषामा यस क्षेत्रका सम्भावना र चुनौतीको विषयमा उपस्थितका जिज्ञासाको जवाफ पनि दिएका थिए । प्रश्नोत्तरका लागि वक्ताहरुका अलावा कमल सिलवाल, रोशन भट्टराई थपिएका थिए । चार घण्टा चलेको कार्यक्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौली, अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनका संरक्षक चिरञ्जीवी देवकोटा, फिनेका संस्थापक अध्यक्ष स्वतन्त्रप्रताप शाह, एनआरएन अष्ट्रेलियाका प्रवक्ता बबिन मिश्र लगायतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन नारी निकुञ्ज भिक्टोरियाकी संयोजक राशी सिंह ठकुरीले गरेकी थिइन् । यस्तै उपस्थितको प्रश्न प्यानलमा रहेका वक्ताहरुसँग सहजकर्ताको भूमिका सञ्चारकर्मी दिक्पालदेव पंगेनीले निभाएका थिए ।

कार्यक्रममा धन्यवाद दिँदै फिने अष्ट्रेलियाकी अध्यक्ष सुजाता चालिसेले कार्यक्रम सफल बनाउन योगदान दिने वक्ताहरु, सहभागीहरुका साथै प्रायोजकहरुकै कारण अत्यन्तै उत्साहजनक रुपमा सम्पन्न भएको बताएकी थिईन् । कार्यक्रममा अष्ट्रेलियाका विभिन्न राज्यबाट सहभागीहरु मेलबर्न आएका थिए ।