मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवले १ सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको मेलबर्नको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरबाट आफु प्रभावित भएको बताउनुभएको छ । सोमबार विहान नेपाली मन्दिर परिसरमा आफ्ना श्रीमान डा. श्रीकृष्ण यादवसँगै पुग्नुभएकी राजदूत यादवले विधिपूर्वक पूजाअर्चना पनि गर्नुभयो । उहाँलाई मन्दिरका पुजारी मिलन ज्ञवाली र श्रवण न्यौपानेले पूजा गराएका थिए ।



उक्त अवसरमा बहुसंस्कृति केन्द्रका अध्यक्ष डा. तिलक पोखरेल, उपाध्यक्ष केशव कँडेल, सचिव सुधिर शाक्य, कार्यसमिति सदस्य रुवि थापामगर, एनआरएन भिक्टोरिया संयोजक मणिरत्न सापकोटाले स्वागत गरेका थिए । अध्यक्ष डा. पोखरेलले बहुसंस्कृति केन्द्रको गुरुयोजना र हालसम्म भइरहेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । पोखरेलले तत्कालका लागि एक हजारजनासम्म अट्ने हल निर्माण गर्ने योजना सुनाएका थिए । त्यससँगै स्थापना गरिने संग्रहालयका लागि नेपालबाट विभिन्न सामग्री ल्याउन कार्यमा दूतावासले सरकारसँग समन्वय गरिदिने अपेक्षा रहेको पनि पोखरेलको भनाई थियो ।
यस्तै उपाध्यक्ष केशव कँडेलले नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रको भूमिकाको चर्चा गर्दै नेपाल पर्यटन बोर्डसँग सहकार्यको लागि पनि दूतावासले भूमिका खेल्ने अपेक्षा गरेका थिए ।

त्यस क्रममा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीको उपस्थितिमा राजदूत यादवले नेपाल सरकार र पर्यटन बोर्डसँग केन्द्रको सहकार्यका लागि आफुले सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । सय रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको बहुसंस्कृति केन्द्र विश्वमै पहिलोपटक देखेको र यहाँ आएर नेपाली मन्दिरमा पूजा गर्न पाउनु वास्तवमा सौभाग्यकै विषय भएको राजदूत यादवको धारणा थियो । केविसीखबरसँग कुरा गर्दै राजदूत यादवले नेपालको हिमाल, पहाड र तराईको झल्को आउनेगरी बहुसंस्कृति केन्द्रलाई अघि बढाउने सोचले नेपाललाई अष्ट्रेलियामा चिनाउने कार्यमा सफल बन्ने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत गौलीले पनि बहुसंस्कृति केन्द्रलाई यहाँको राज्य सरकारले दिएको सहयोग र अन्य पहलहरुको विषयमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया