न्यूसाउथवेल्समा मात्रै यात्रीहरुले होटल क्वारेन्टीनको एघार करोड डलर तिर्न बाँकी

न्यूसाउथवेल्समा मात्रै यात्रीहरुले होटल क्वारेन्टीनको एघार करोड डलर तिर्न बाँकी


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यलाई विदेशबाट आएका अष्ट्रेलियन नागरिकहरु र अन्य यात्रीहरुले ११ करोड डलर अर्थात् १ सय १० मिलियन डलर तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ । यसरी होटल क्वारेन्टीनको रकम तिर्नेहरु न्यूसाउथवेल्सका बासिन्दा मात्र भने होइनन । सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबैलाई अनिवार्य होटल क्वारेन्टीन बस्नुपर्ने नियम रहेको बेला उनीहरुले १५ दिनको होटल खर्चवापत तिर्नुपर्ने रकम बक्यौता रहेको हो । यसअघि होटल क्वारेन्टीन निःशुल्क थियो ।

तथ्यांक अनुसार १ लाख ४२ हजार ७ सय २८ जनाले क्वारेन्टीन रकम तिर्नुपर्नेमा ६२ हजार ४ सय २६ जनाले यस्तो रकम तिरेका छन् भने अझै ६५ हजार ४ सय ८ जनाको ११ करोड बाँकी रहेको हो । महामारीको बेला तीन हजार प्रतिव्यक्ति, अर्को थप व्यक्तिको एक हजार र १८ वर्षमुनीको यात्रीको ५ सय डलर क्वारेन्टीन शुल्क तोकिएको थियो । यसअघि नै न्यूसाउथवेल्स सरकारले तिर्न नसक्ने ५ हजारभन्दा बढी व्यक्तिहरुको क्वारेन्टीन शुल्क मिनाहा गरिसकेको छ ।

न्यूसाउथवेल्सका वित्तिय मन्त्री डमिन टुडेफीले रकम तिर्न आह्वान गर्दै नतिर्दा यो न्यूसाउथवेल्सका करदाताहरुलाई अन्याय हुने जनाएका छन् । उनले ३० दिने समय दिएर ईमेल पठाइएको भएपनि धेरैले चासो नदिएको भन्दै तत्काल सम्पर्क गर्न आह्वान गरेका छन् ।
सरकारले हाल पूर्ण खोप लगाइसकेका व्यक्तिहरु अष्ट्रेलिया आउँदा क्वारेन्टीन बस्नु नपर्ने नियम ल्याएको छ ।

खोप नलगाएका व्यक्तिहरुले भने अझै पनि १४ दिन क्वारेन्टीन बस्नुपर्ने नियम छ ।