तास्मानियामा दोस्रो ‘नेपाल फेस्टिभल’को तयारी अन्तिम चरणमा, ५ हजार दर्शक आउने अपेक्षा

तास्मानियामा दोस्रो ‘नेपाल फेस्टिभल’को तयारी अन्तिम चरणमा, ५ हजार दर्शक आउने अपेक्षा


तास्मानिया ।

तास्मानियामा आगामी मार्च २९ तारिखका दिन हुने ‘नेपाल फेस्टिभल’ को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल फेष्टिभलमा तास्मानियाको ऐतिहासिक स्थल पार्लियामेन्ट लन सालामान्कालाई नेपालमय बनाउने योजना छ ।
‘नेपाल फेस्टिभल’ नेपाली कला, संस्कृति, सङ्गीत, परम्परा र पहिचानलाई प्रवद्र्धन गर्ने सबैभन्दा ठुलो कार्यक्रम बनेको साँस्कृतिक संयोजक विष्णु थपलियाले जानकारी दिए । थपलियाले भने, ‘नेपाल फेस्टिभल नेपाली कला, संस्कृति, सङ्गीत, परम्परा र पहिचानलाई प्रवद्र्धन गर्ने हाम्रो उत्सव हो । यसले नेपाली भाषा बोल्ने सबैलाई एक ठाउँमा ल्याउने विशेष अवसर प्रदान गर्छ ।’

थपलियाका अनुसार सन् २०२२ मा पहिलो पटक आयोजना गरिएको नेपाल फेष्टिभलको दोश्रो संस्करण अझै व्यवस्थित र भव्य बनाउने योजनाका साथ धेरै स्वयंसेवकहरु अहोरात्र खटिएका छन् ।
कार्यक्रममा कन्दरा ब्यान्डको मुख्य प्रस्तुति हुनेछ । यस्तै चर्चित गायिका समीक्षा अधिकारीसँगै उदय श्रेष्ठ र युवराज चौलागाईंले पनि उपस्थित दर्शकलाई नेपालको झल्को दिनेछन् ।

माया इभेन्ट्सले तास्मानियाका नृत्य समूह र सांस्कृतिक कार्यक्रमहरूलाई दर्शक सामू पस्कने कार्यको संयोजन गरेको छ । नेपाल फेष्टिभलको सुरुवातमा सांस्कृतिक परेड आयोजना गरिनेछ ।
एनआरएनए तास्मानियाका उपसंयोजक उत्तम अधिकारीले नेपाल फेस्टिभललाई भव्य बनाउनका लागि सरकारी अधिकारीहरु, अन्य समूदायका अगुवाहरु लगायत प्रतिष्ठित व्यक्तित्वहरूलाई निमन्त्रणा पठाइसकिएको जानकारी दिएका छन् ।
तास्मानियाका प्रिमियर, अष्ट्रेलियाका लागि नेपाली राजदूत, तास्मानियाका विपक्षी नेताहरू, राज्य मन्त्रीहरू, सिटी काउन्सिलका मेयरहरू, अन्य राज्यका एनआरएन नेताहरू तथा विशिष्ट अतिथिहरू नेपाल फेस्टिभलमा सहभागी हुनेछन् ।

एनआरएनए अस्ट्रेलिया राष्ट्रिय युवा मञ्चका कोषाध्यक्ष अस्मिन घिमिरेले नेपाल फेस्टिभल सम्पूर्ण नेपाली भाषी समुदायको साझा पहिचान भएको बताउँदै तास्मानियाका नेपाली समुदाय, स्थानीय व्यवसायी तथा सम्पूर्ण सरोकारवालाहरूलाई नेपाल फेस्टिभललाई सफल बनाउन हातेमालो गर्न अनुरोध गरे ।

‘नेपाल फेस्टिभल’ ले नेपाली समुदायलाई एकताको सूत्रमा बाँध्ने, नयाँ पुस्तालाई नेपाली कला र संस्कृतिप्रति अभिरुचि जगाउने, र नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा छ ।

यस वर्ष ‘नेपाल फेस्टिभल’ मा ५ हजारभन्दा बढी बढी दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ ।
यस पटकको तास्मानियाको नेपाल फेष्टिभलमा मुख्य प्रायोजक अजी फाईनान्स तथा होम लोन्स तास्मानिया रहेको छ ।