२५ महिने कार्यकाल सकाएर राजदूत पोखरेल फिर्ता, अष्ट्रेलियाका मन्त्रीले नै गरे प्रशंसा

२५ महिने कार्यकाल सकाएर राजदूत पोखरेल फिर्ता, अष्ट्रेलियाका मन्त्रीले नै गरे प्रशंसा


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले नेपाली राजदूत कैलाशराज पोखरेलको कामको प्रसंसा गरेका छन् । राजदूत पोखरेलसँग बिदाई भेटका अवसरमा उनले टिफा सम्झौता गर्दाको समय स्मरण गर्दै यसलाई सफल तुल्याउन राजदूत पोखरेलले खेलेको भूमिका अतुलनीय रहेको बताएका हुन् ।

भेटपछि उनले पत्रमा लेखेका छन् “२०२३ मा पहिलोपटक म नेपाल भ्रमणमा गएँ । यो १९८५ पछि कुनै मन्त्रीले नेपालको भ्रमण गरेको पहिलो पटक रहेछ । त्यसक्रममा मैले दुई देशबीच लामो विकास साझेदारी प्रत्यक्ष हेर्न पाएँ । दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने मामिलामा दोहोरो व्यापारको प्रबद्र्धन होस् भनेर तपाईं र मैले विदेशमन्त्री साउद र वो को उपस्थितिमा टिफा सम्झौतामा पर्थमा आयोजित सम्मेलनका क्रममा हस्ताक्षर गरेका थियौं । अष्ट्रेलियामा रहेका नेपाली मूलका जनताको सेवामा तपाईं र दूतावासले खेलेको भूमिकाको म प्रशंसा गर्न चाहन्छु ।”

Senator the Hon. Penny Wong, Minister for Foreign Affairs, and the Hon. Tim Watts, Assistant Minister for Foreign Affairs meet with Nepalese Foreign Minister, Hon N.P. Saud, at the Indian Ocean Conference (IOC) in Perth on Friday 9 February, 2024, where a Trade and Investment Framework Agreement between Australia and Nepal was signed by DFAT

राजदूत पोखरेलको कार्यकालमा नेपालमा अष्ट्रेलियाको उच्च राजनीतिक भ्रमण भएको थियो । सहायक विदेशमन्त्री टिम वाट्स पछि संघीय संसदका सभामुख मिल्टन डिकले नेपालको भ्रमण गरेका थिए । यसबीचमा नेपालको तर्फबाट पनि राष्ट्रिय सभाका सभामुखसहित उच्चस्तरीय भ्रमणहरु भएका छन् ।

अष्ट्रेलियाको राजदूत भएर आएपछि केही समय यहाँका समस्या पहिचानमा बिताएका राजदूत पोखरेलले दूतावासमा लामो समयदेखि कायम रहेको पासपोर्टको वितरणको समस्यालाई व्यवस्थित बनाएका थिए । सीमित दरबन्दीका बाबजुद उनले फोन नउठ्ने समस्यालाई समाधान गरेका थिए भने बैंक कार्ड मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएका थिए । यसअघि नगदमा कारोबार हुने गरेको थियो ।
पासपोर्ट वितरणमा राजदूत पोखरेलले थालेको नयाँ अभ्यास विना अप्वाईन्टमेन्ट पनि २ बजेपछि सेवाग्राहीलाई नवीकरणका लागि सेवा प्रदान गर्ने निर्णय हो । यसबाट समस्यामा परेकाहरुलाई तत्कालै सुविधा मिलेको देखिन्छ ।

उनकै कार्यकालमा नेपालबाट अष्ट्रेलियामा के सामग्री आयात हुन्छन र यी सामग्रीमा विविधता कसरी ल्याउन सकिन्छ भन्ने अध्ययन सम्पन्न भएको छ । राजदूत पोखरेलले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीहरुलाई दूतावासमै बोलाएर सम्मान गरेका थिए । दुई देशबीच सम्बन्धसेतु बन्नसक्ने उनीहरुले नेपालको आफ्नो अनुभव साटेका थिए ।

अष्ट्रेलिया नेपाल सिधा हवाई उडानको विषय लगभग अन्तिम चरणमा पुगेको छ । राजदूत पोखरेलको कार्यकालमा नेपालबाट सिधा उडानको विषयले गति लिएको थियो । राजदूत पोखरेलकै भाषामा “सुविधाहरु भनेको नहुँदा त्यसमा धेरै गुनासा आउँछन् तर प्राप्त भएपछि त्यो खासै केही होइन जस्तो लाग्नसक्छ ।” उनले दूतावासमा नगदको कारोबार डिजिटलाईज्ड गर्ने कुराको सन्दभैमा यस्तो बताएका थिए ।
अष्ट्रेलियाको विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरुलाई नेपालको नीतिनिर्माण र योजना तहमा कार्य गरिरहेका विद्वानहरुसँग सिधा सम्पर्क गराउने उनको प्रयास पनि देशको निम्ति कोशेढुंगा थियो ।

यस पटकको नेपाली राजदूतको कार्यकालमा अर्को महत्वपूर्ण भूमिका उनकी श्रीमति बसुधा पोखरेलको भूमिकाको रह्यो । दूतावासका कार्यक्रममा मात्र होइन कुटनीतिक नियोगका कार्यक्रममा पनि सक्रियतापूर्वक सफल बनाउन श्रीमति पोखरेल खटिएको देखिन्थ्यो । दूतावासमा जाने नेपालीहरुलाई हार्दिकताका साथ स्वागत, समूदायमा देखिएका प्रश्नहरु र गुनासोहरुलाई सम्बोधन गर्ने कार्यमा उनको भूमिका सदैव सहयोगी देखिन्थ्यो ।

दूतावासले यहाँको नेपाली समूदायसँग मिलेर विभिन्न कार्यक्रमहरुमा पनि अभिभावकीय भूमिका निर्वाह गर्दै आएको छ जसलाई राजदूत पोखरेलले पनि निरन्तरता दिए । यस्तै विभिन्न शहरमा भएका वाणिज्यदूतको कार्यालयहरुसँगको कार्य र सेवामा पनि दूतावासकै नेतृत्वदायी भूमिका रहने गर्दछ । राजदूत पोखरेलकै समयमा न्यूसाउथवेल्समा सन्जीव शर्मा र भिक्टोरियामा निराजन गौली वाणिज्यदूत नियुक्त भए । उनकै कार्यकालमा न्यूजिल्याण्डमा दिनेश खड्का वाणिज्यदूत नियुक्त भएका हुन् ।

नेपालमा २५ महिने कार्यकाल सकाएका राजदूत पोखरेललाई हालै सरकारले फिर्ता बोलाएको थियो । प्रचण्ड नेतृत्वको यसअघिको सरकारले राजदूत बनाएका पोखरेललाई नेकपा समाजवादीको तर्फबाट सिफारिश गरिएको थियो । पोखरेललाई एमाले नेतृत्वको सरकार आउने वित्तिकै फिर्ता बोलाउने निर्णय भएको थियो ।

राजदूत पोखरेल आईतबार सिड्नी हुँदै स्वदेश फर्किसकेका छन् । विमानस्थलमा राजदूतावासका सहकर्मीहरु र न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सन्जीव शर्माले उनलाई बिदाई गरे ।

आफ्नो २५ महिनाको कार्यकाल सकाउँदै गर्दा यत्ति भन्न अप्ठेरो छैन, “राजदूत पोखरेलले नेपालको छविलाई अष्ट्रेलियामा धुमिल हुन दिएनन् थप उज्यालो बनाएर गए ।”