एनआरएन अष्ट्रेलिया फाउन्डेसनले पायो मान्यता, दिइएको चन्दा करफिर्ता गर्न सकिने

एनआरएन अष्ट्रेलिया फाउन्डेसनले पायो मान्यता, दिइएको चन्दा करफिर्ता गर्न सकिने

लिगल अष्ट्रेलियन च्यारिटी अर्गनाईजेसनले आठवटै स्टेट र टेरेटोरीमा काम गर्न पाउने


मेलबर्न, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले बनाएको एनआरएन अष्ट्रेलिया फाउन्डेसनले अष्ट्रेलियन च्यारिटी एण्ड ननफर प्रोफिट कमिशन (एसीएनसी) बाट मान्यता पाएको छ । शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाका अध्यक्ष अनिल पोखरेलले यस विषयमा जानकारी दिएका हुन् । यतिमात्र होइन संस्थाले डिडक्टेबल गिफ्ट रेसिपियन्ट मान्यता समेत प्राप्त गरेको छ । यसको अर्थ हुन्छ संस्थालाई दिइने कुनैपनि चन्दा या सहयोग अब करकट्टा गर्न सकिनेछ ।
एनआरएन अष्ट्रेलिया फाउन्डेसनलाई कुनैपनि व्यक्तिले या संस्थाले दिएको चन्दा त्यस्ता व्यक्ति वा संस्थाले आफ्नो वार्षिक ट्याक्स रिटर्नमा फिर्ताका लागि दावी गर्न पाउनेछन् ।
कार्यक्रममा बोल्दै एनआरएन अष्ट्रेलियाका अध्यक्ष पोखरेलले आफ्नो कार्यकाल सुरु भएपछिको पहिलो बैठकमा गरिएको निर्णय यतिछिट्टै दर्ताको प्रक्रियाबाट मान्यता प्राप्त गर्न सफल भएकोमा खुशी व्यक्त गरे । उनले यस कार्यको सुरुवात गर्ने यसअघिका सबै अग्रजहरुलाई धन्यवाद दिँदै आगामी दिनमा कार्यविधि बनाएर यसको संरचना निर्माण गरिने जानकारी दिए । उनले भने, चार, पाँच महिना लाग्छ होला । हामी एउटा संरचना निर्माण गर्नेछौं जसले यस फाउन्डेसनलाई सञ्चालन गर्छ । यो एनआरएन अष्ट्रेलिया अन्तर्गत भन्दा पनि सम्बन्धित तर छुट्टै स्वायत्त निकाय हुनेछ । यसले अष्ट्रेलियामा बस्ने नेपालीमूलका मात्र नभएर सबै समूदायका लागि च्यारिटीको काम गर्नेछ । म विचार प्रवाह गर्ने टोनु घोतानेदेखि पछिल्लो समय आइपुग्दा वर्तमान एनआरएन न्यूसाउथवेल्का सचिव कल्याण खड्कासम्म सबैलाई हातेमालोको लागि सम्झन चाहन्छु ।
एनआरएन अष्ट्रेलियाको कार्यालय आफ्नै युनिटमा गरिएको पत्रकार सम्मेलनमा अनलाईनमार्फत पनि जोडिएका अतिथिहरुको साथ उपस्थित भएका अध्यक्ष पोखरेलले यो ऐतिहासिक सपना भएको र आफ्नो कार्यकालमा पूरा हुन सकेकोमा खुशी व्यक्त गरे । हाल दर्ता प्रयोजनका लागि एनआरएन अष्ट्रेलिया फाउन्डेसनमा तीन जना बोर्ड मेम्बर रहेको र समूदायसँगको बृहद अन्तरक्रियापछि यसलाई छिट्टै पूर्णता दिइने धारणा राखे । उनले, संस्थाको कार्यसमिति चार वर्षको हुनसक्ने संकेत पनि गरे । उनले भने, दुई दुई वर्षमा आउने नयाँ नेतृत्व र यसको सञ्चालन तथा हस्तान्तरणको प्रक्रियाबारे हामीले केही सोच्नुपर्छ होला । अलि लामो समयसम्मको कार्यकाल र विषयगत विज्ञहरुको निरन्तरको प्रयासले यो अभियान सार्थक बनाउन सकिन्छ भन्ने लाग्छ । तर, यो हाम्रो प्रस्ताव मात्रै हुन्छ । निर्णय सामूहिक छलफलबाट गरिनेछ ।
कार्यक्रमा एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव कँडेल, महेन्द्र ओली, सुरेन्द्र सिग्देल, पूर्वउपाध्यक्ष नवीन पन्त र संस्थापक अध्यक्ष मन केसीले आफ्नो धारणा राखेका थिए । उनीहरुले अष्ट्रेलियाको नेपाली समूदायको लागि यो एउटा ऐतिहासिक कदम मात्र नभएर विश्वकै एनआरएन अभियानलाई पनि अघि बढ्ने बाटो देखाउने कार्य भएको धारणा राखे ।
यस्तै एनआरएन आईसीसीका उपाध्यक्ष डा. विनोद श्रेष्ठले चार वर्षको कार्यकाल राखेर जाँदा कतै एनआरएन अष्ट्रेलिया र फाउन्डेसन अलग अलग हो भन्ने धारणा विकास हुने हो कि सचेत बन्नुपर्ने बताएका थिए । यस्तै एनआरएन अनररी काउन्सिल मेम्बर होमनाथ पाण्डे, एनआरएन आईसीसी सचिव डा। ज्ञानेन्द्र रेग्मी, ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेल लगायतले यस कार्यमा संलग्न सबैमा बधाई र सही कार्यान्वयनको शुभकामना दिएका थिए ।