नयाँ सरकार बनेको एक महिनामा नै २० प्रतिशत राजश्व संकलन भएको अर्थमन्त्रीको दावी

नयाँ सरकार बनेको एक महिनामा नै २० प्रतिशत राजश्व संकलन भएको अर्थमन्त्रीको दावी



काठमाडौँ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार गठन भएको एक महिनामा २० प्रतिशतले राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घको कार्यक्रममा बोल्नुहुँदै यस्तो बताउनुभएको हो ।

मन्त्री पौडेलले गत आर्थिक वर्षको साउन महिनामा सङ्कलन भएको राजस्वको तुलनामा चालु आर्थिक वर्षको साउन महिनाको राजस्व २० प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले वर्तमान सरकार गठन भएको एक महिनाको अवधिमा अर्थतन्त्रका केही सूचकहरुमा सकारात्मक सङ्केतहरु देखापरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रका सूचकहरुलाई सकारात्मक बनाउने गरी सरकारले प्रभावकारी काम गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । बजेटले लिएको राजस्वको लक्ष्य पूरा गर्न ३० प्रतिशत पुग्नुपर्ने बताउनुभयो । उहाँले साउन महिनामा पुँजीगत खर्च गत वर्षको तुलनामा नौ गुणाले वृद्धि भएको र घरजग्गा कारोबारको क्षेत्रमा पनि केही सुधारका सङ्केतहरु देखिएको उल्लेख गर्नुभयो ।

उहाँले पछिल्लो एक महिनाको अवधिमा पुँजीबजार उत्साहित भइरहेको भन्दै मौद्रिक नीतिको प्रभावले अर्थतन्त्रमा सकारात्मक असर गरेको बताउनुभयो । उहाँले भुक्तानी सन्तुलनमा अनुकूल अवस्थामा रहेको बताउनुभयो । उहाँले अर्थतन्त्रका सूचकहरुले क्रमशः अर्थतन्त्रका प्रतिकुल परिसूचकहरुलाई अनकूल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको जानकारी दिनुभयो । उहाँले मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर नआएको भन्दै समग्र माग उत्पादन, रोजगारीको कमी रहेको उल्लेख गर्नुभयो ।

‘‘अर्थतन्त्रका सूचकहरुले पनि वर्तमान सरकारले क्रमशः अर्थतन्त्रका प्रतिकूल परिसूचकहरुलाई अनकुल परिसूचकमा बदल्न सक्छ भन्ने कुराको सङ्केत गरेको छ । अर्थतन्त्रका सकारात्मक सूचकहरुलाई यही गतिमा अगाडि बढाएर लैजान्छ । मुलुकको अर्थतन्त्र शिथिलताको अवस्थाबाट भने बाहिर आइसकेको छैन ।,’’ मन्त्री पौडेलले भन्नुभयो, ‘‘समग्र मागमा, उत्पादन, रोजगारी कमी छ । उद्योगहरु ४० प्रतिशत क्षमतामा सञ्चालन भएका छन् । राजस्वले साधरणखर्च धान्नुपर्ने अवस्थाबाट बाहिर निस्कन सकेका छैनौँ ।’’

अर्थमन्त्री पौडेलले सरकारले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि नगरी विकास समृद्धिका कुरा गरेर काम नभएको धारणा राख्नुभयो । उहाँले पुँजीगत खर्चलाई गुणात्मक रुपमा वृद्धि गर्नुपर्ने दायित्व सरकारको रहेको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले सार्वजनिक ऋणमा भएको वृद्धिले सरकार होसियार हुन आवश्यक देखिएको उल्लेख गर्नुभयो । सरकारी वित्त दबाबको अवस्थामा रहेको भन्दै रकम भुक्तानीका लागि अर्थ मन्त्रालयमा दैनिक लाइन लाग्ने गरेको अर्थमन्त्रीको भनाइ छ ।

उहाँले बजेटले सम्बोधन नगरेको तर राज्यले वहन गर्नुपर्ने दायित्वहरु वृद्धि हुँदै गएको जानकारी दिनुभयो । अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाउने बताउनुभयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको क्रमशः भुक्तानी गर्दै आएको भन्दै जुनसुकै रुपमा भएपनि भुक्तानी नरोक्ने पुनः प्रतिबद्धता जनाउनुभयो ।

सरकारले बनाउने कानुनहरु व्यवसायीहरुमाथि लाद्ने दृष्टिकोण नभएको उल्लेख गर्नुभयो । उहाँले कानुनहरुलाई व्यवसायीहरुका मागलाई सुन्ने र व्यवसायीमैत्री बनाउने योजनामा रहेको भन्दै निजी क्षेत्रको लगानी सङ्कुचन हुनेगरी कानुन नबनाउने बताउनुभयो । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको महत्त्व बुझेको भन्दै निजी क्षेत्रको भूमिकालाई कमजोर बनाउने काम नगर्ने बताउनु भयो । अर्थमन्त्री पौडेलले सरकार र मन्त्रीहरुलाई समय खेर फाल्ने छुट नभएको भन्दै परिणाम आउने गरी काम गर्ने बताउनुभयो ।