काठमाडौं ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले प्रदर्शनकारीहरुको लगातारको आन्दोलनका कारण असुरक्षा उत्पन्न भएपछि देश छोड्नुपरेको छ । स्वतन्त्रता सेनानीहरुको परिवारलाई दिइदै आएको आरक्षण खारेज गर्नुपर्ने माग गर्दै सुरु भएको आन्दोलन उनको राजीनामामा अडिएपछि यो अवस्था आएको हो । आन्दोलनकारीहरुमाथि अधिक शक्ति प्रयोग गर्दै तीन सय भन्दा बढीको ज्यान जानेगरी दमन भएको थियो । यसपछि आरक्षणको मुद्दा उनले राजीनामा दिनुपर्नेतर्फ मोडिएको हो ।
स्थिति यस्तो बन्दै गयो कि उनलाई कुनैपनि सुरक्षा निकायले सुरक्षा दिन नसक्ने अवस्था आइलाग्यो । प्रधानमन्त्री निवास र कार्यालयमा प्रदर्शनकारीहरु अगाडि बढ्न थालेपछि उनले भिडियो सन्देश रेकर्ड गरेर देशवासीका नाममा सम्बोधन गर्न खोजेकी थिइन् तर त्यस्तो गर्न सम्भव नभएको बताइएको छ ।
शेख हसिना वाजेदले देश छोडे लगत्तै सैनिक प्रमुख वकर उज्जामनले देशवासीका नाममा सम्बोधन गर्दै शान्ति कायम गर्न आह्वान गरेका छन् । उनले सबै शक्ति सम्मिलित अन्तरिक सरकार गठन गरिने र देशको हितमा अघि बढ्न सबैलाई अपिल गरेका छन् ।
हालै भारतको भ्रमण गरेकी प्रधानमन्त्री शेख हसिना वाजेद भारततर्फ नै गएको हुनसक्ने बताइएपनि यसको बारेमा केही खुलाइएको छैन ।
केही भिडियोहरु सार्वजनिक भएका छन् जसमा उनी एक सैनिक हेलिकोप्टरमा चढ्दै गरेको बताइएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने भइसकेको छैन ।
अर्को भिडियोमा प्रदर्शनकारीहरु प्रधानमन्त्री कार्यालयको बैठक कक्षहरुमा पुगेको र त्यहाँका सामानहरु निकालेर बाहिर ल्याउँदै गरेको देखिएको थियो ।
आईतबार भएको प्रदर्शनमा मात्रै सय जनाभन्दा बढीको ज्यान गएपछि आज यो आक्रोश अझै बढेको थियो ।
प्रधानमन्त्री शेख हसिना वाजेदले सुरुमा सडकमा प्रदर्शन गर्नेहरु विद्यार्थी नभएर आतंककारीहरु भएको बताएकी थिइन् । त्यसपछि उनले विपक्षीहरुले यिनलाई परिचालन गरेको बताइन् भने पछिल्लो समय सम्झौताको मुडमा थिइन् । तर, प्रदर्शनकारीहरुले शनिबारदेखि एकसूत्रीय रुपमा उनको राजीनामाको मागलाई अघि सारेका थिए । प्रधानमन्त्री हसिनाले देश छाडेपनि अन्य मन्त्री र उनको पार्टीका उच्च पदस्थ अधिकारीहरु के गरिरहेका छन् भन्ने विषयमा केही खुलेको छैन ।
प्रतिक्रिया