६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ

६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ


काठमाडौं, ५ वैशाख । पछिल्लो दुई वर्षमै ६६ करोड ७९ लाख रुपैयाँको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो ।
कार्यालयका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको जनाएको छ । प्रहरीले उनको खातामा १२ हजार ८ सय अमेरिकी डलर बराबरको बिटक्वाइन रहेको समेत फेला पारेको छ । पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । प्रहरीले उनको खातामा १३ सय ९९ अमेरिकी डलर बराबरको बिटक्वाइन रहेको समेत फेला पारेको छ ।
पक्राउ परेका राहुल चाचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ । प्रहरीले उनको खातामा ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाइन मौज्दात रहेको जनाएको छ ।
कार्यालयका अनुसार उनीहरुलै दैनिक ५ हजारदेखि ५० हजार अमेरिकी डलरसम्मको बिटक्वाइनको कारोबार गर्ने गरेको जनाएको छ । कार्यालयले भनेको छ, ’उनीहरुले व्यापारिक प्रयोजनका सामाग्रीहरु विदेशबाट आयात गर्दा समेत अनलाइनमार्फत क्रिप्टोमै रकम तिर्ने गरेको समेत देखिन्छ ।’