अप्रिल २३ तारिखबाट तास्मानियामा ‘टीएनसीए टी-२० क्रिकेट लिग’ आयोजना हुने !

अप्रिल २३ तारिखबाट तास्मानियामा ‘टीएनसीए टी-२० क्रिकेट लिग’ आयोजना हुने !

मे १ तारिखमा होबार्टमा फाईनल खेल



होबार्ट, तास्मानिया ।

तास्मानियामा आगामी २३ अप्रिलबाट टीएनसीए टी२० क्रिकेट लिग २०२२ आयोजना हुने भएको छ । होबार्टमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक तास्मानियन नेप्लीज क्रिकेट एशोसिएसनले यस्तो जानकारी गराएको हो । प्रमुख प्रायोजक ग्रेस ईन्टरनेशनलको होबार्टस्थित कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार यस पटक कूल ६ वटा क्रिकेट टिमहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै तास्मानियन क्रिकेट एशोसिएसनकी अध्यक्ष पुनम पन्तले लिग अन्तर्गत २३ अप्रिलमा लन्चेष्टनमा पहिलो खेल लन्चेष्टन नेप्लीज क्रिकेट क्लबका विरुद्ध नयाँ क्रिकेट क्लबबीच हुने जानकारी दिइन् । सोही दिन अन्य तीनवटा खेलहरु आयोजना गरिनेछ भने ३० अप्रिलमा होबार्टमा छनोट चरणका अन्य खेल हुनेछन् । अप्रिल ३० तारिखमा नै समूह सेमि फाईनलका खेलहरु आयोजना गरिनेछ । मे १ तारिखमा होबार्टमा फाईनल खेल हुनेछ ।

अध्यक्ष पन्तले तास्मानियामा नेपाली क्रिकेटको ईतिहास लामो नभएपनि छोटो समयमा नै ६ वटा टिमको सहभागितामा प्रतियोगिता आयोजना हुनसक्नु आफैंमा गर्वको कुरा भएको बताइन् ।

प्रतियोगिता अन्तर्गत समूह एमा लन्चेष्टन नेपाली क्रिकेट क्लब, नया क्रिकेट क्लब, काठमाडौं वारियर्स छन् भने समूह बीमा गोर्खाली लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब, यति क्रिकेट क्लब रहेका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित भएर एनआरएन तास्मानियाका सहसचिव चन्द्र ह्येजु र नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनका अध्यक्ष विष्णु सापकोटाले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । उक्त अवसरमा बोल्दै ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन तास्मानियाका निर्देशक विकेन्द्र सापकोटाले यो अवसरको लागि संघप्रति आभार व्यक्त गरेका थिए ।