अष्ट्रेलियाले विद्यार्थी भिसाको भाउ दोब्बर बढायो 

अष्ट्रेलियाले विद्यार्थी भिसाको भाउ दोब्बर बढायो 


मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलिया सरकारले विद्यार्थी भिषा शुल्कमा दोब्बर भन्दा बढीले वृद्धि गरेको छ। नयाँ आर्थिक वर्ष सरुभएसँग विभिन्न भिजा आवेदनको शुल्कमा सरकारले बृद्धि गरेको हो। बिद्यार्थी भिजामा लिँदै आएको साविक ७१० डलरबाट बढाएर १६ सय अष्ट्रेलियन डलर पुर्याएको छ। पहिलेको तुलनामा यो शुल्क १२५ प्रतिशतले बढी हो। 

यस्तै टेम्पोरेरी ग्राजुयट भिजा एक हजार ९४५, स्किल इन्डिपेन्डेड भिजा, स्किल नोमिनेसन भिजा, स्किल वर्क रिजनल भिजामा चार हजार ६४० अष्ट्रेलियन डलर शुल्क तोकिएको छ । यस्तै अन्य भिजाको आवेदन शुल्क तीन प्रतिशतले बढाइएको छ । 

पछिल्लो समयमा सरकारले अष्ट्रेलियामा बढ्दै गएको आवासीय समस्यालाई सम्बोधन गर्नका लागि विद्यार्थीका रुपमा यहाँ आउनेहरुलाई कडाई गर्न लागेको छ । यस्तै विद्यार्थीका रुपमा आएर यहीँ स्थायी बसोबास गर्न चाहनेका लागि पनि पछिल्लो फेरिएका प्रावधानहरुले अप्ठेरो बनाएका छन् । कतिपय यहाँको अध्यागमनसँग सम्बन्धित विज्ञहरुले वर्तमान सरकारले आर्थिक मन्दीको अवस्थामा उल्टो बाटो अवलम्बन गरेको आरोप लगाइरहेका छन् । 

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज मेलबर्नका निर्देशक तथा रजिस्टर्ड माइग्रेसन एजेन्ट सरोज शर्माले अन्य भिजा आवेदनको तुलनामा विद्यार्थी भिजाको शुल्क धेरै नै बढेको बताएका छन्। अष्ट्रेलिया सरकारले विद्यार्थी भिजाबाट आम्दानी बृद्धि गर्न शुल्क बढाएको हुन सक्ने उनले बताए। अष्ट्रेलिया सरकारको पछिल्लो पटकको शुल्क वृद्धि गर्ने निर्णय विद्यार्थी भिजालाई कडा गर्दै जाने नियमलाई निरन्तरता भएको उनको भनाइ छ। 

शूल्क वृद्धिको निर्णयले विद्याथी भिजाको आवेदन नघट्ने उनले बताए। अष्ट्रेलिया अध्ययन गर्न आउने विद्यार्थीलाई आर्थिक भार थपिए पनि निर्णय परिवर्तन गर्ने छैनन्, उनले भने।