मतपत्र च्यात्ने र बाकस साट्नेहरुको गठबन्धनः ओेली

मतपत्र च्यात्ने र बाकस साट्नेहरुको गठबन्धनः ओेली


काठमाडौं, २ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावको मतदान नसकिएसम्म आफ्ना असन्तुष्टिहरूलाई आफूसँगै राख्न कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले यो चुनाव एमालेले जित्नै पर्ने भन्दै चुनाव जितेपछि असन्तुष्टिका आवाज सुन्ने आश्वासन दिए । एमाले नुवाकोट जिल्ला कमिटीले बट्टारमा आयोजना गरेको वृहत् चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कसले टिकट पायो भन्ने भन्दा पनि पार्टीले जित्ने कुरा ठूलो भएकाले एमाले जिताउन केन्द्रित हुनुपर्ने बताए ।
ओलीले भने–चुनावमा एउटाले टिकट पाउँछ, अरू जिताउन लाग्ने हो । कसले टिकट पाउँछ ठूलो कुरा होइन,पार्टीले जित्नुपर्छ । अहिले असन्तुष्टि पोख्ने बेला होइन । वैशाख ३० गतेपछि जेठ चार पाँच गते बसेर असन्तुष्टिका स्वरको समीक्षा गरौँला । अध्यक्ष ओलीले अहिले सबै एमाले पङ्क्तिको काम मत बढाउने र मतको सुरक्षा गर्ने रहेको भन्दै चुनावमा मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न नदिन समेत कार्यकर्तालाई निर्देशन दिए ।
उनले भने– मत बढाएर मात्र हुन्न, त्यसको सुरक्षा पनि गर्नुपर्छ । बत्ती निभाएर बाकस साटेर, मतपत्र च्यातेर चपाउनेहरू छन् । तिनीहरूसँग होसियार हुनुस् । मतपत्र आँखाबाट ओझेल पर्न नदिनुस् । मत सुरक्षा ठूलो कुरा हो ।
जिल्ला अध्यक्ष बद्री मैनालीको अध्यक्षतामा भएको जनसभालाई एमाले उपमहासचिव विष्णु रिमाल नेताहरू महेन्द्र पाण्डे, केशव पाण्डे, केन्द्रीय सदस्य बिन्दा ढुंगाना, उषाकिरण तिम्सेना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापति यामबहादुर थापा लगायतको टोली एमाले प्रवेश गरेको थियो ।