काठमाडौं ।
उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेले महिला तथा बालबालिका विरुद्ध हुने हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा अछाममा भएको घटनाबारे सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लामिछानेले अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन दिएको बताए।
उनले भने, ‘महिला तथा बालबालिकाका विरुद्ध हुने कुनैपनि हिंसा र अपराधका घटनाहरुमा शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न स्थानिय प्रशासनलाई मन्त्रालयले स्पष्ट निर्देशन गरेको र पीडितको न्याय प्राप्त गर्ने संवैधानिक हकको संरक्षण एवं कार्यानवयनका लागि गृह मन्त्रालय र मातहत प्रशासन थप संवेदनशिल र सचेत रहेको कुरा जानकारी गराउन चहान्छु।’
लामिछानेले अछाममा भएको छाउपडी घटनाबारे स्थानीय प्रशासनले अनुसन्धान गरिरहेको बताउँदै छिट्टै अदालती प्रक्रियामा जाने बताए। छाउपडि प्रथाको अभ्यास भएका क्षेत्रको समिक्षा गर्न र अनुसन्धानको कार्य कडाइका साथ गर्न र अपराधीलाई कडा कारबाही गर्न पनि निर्देशन दिइएको लामिछानेको भनाइ छ।
उनले यो प्रथाको अन्त्य गर्नको लागि एउटा समिति निमार्ण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णयहरु गर्ने र अभियानहरु सञ्चालन गर्ने कुराको पनि निर्णय भएको पनि जानकारी दिएका छन्।
असार ४ गते अछाम जिल्ला पञ्चदेवल विनायक नगरपालिका–२ बस्ने १६ वर्षीया किशोरीमाथि छाउगोठ नजिकै बेहोस अवस्था फेला परेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयसमेतको टोलीले उद्धार गरि उनलाई उपचारको लागि जिल्ला अस्पताल लगेको थियो।
प्रतिक्रिया