एमाले पनि चुनावी गठबन्धनको तयारीमा, राप्रपा नेपालबीच तालमेलको सहमति

एमाले पनि चुनावी गठबन्धनको तयारीमा, राप्रपा नेपालबीच तालमेलको सहमति


काठमाडौं, ३० चैत । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । बुधबार थापाथलीस्थित एमालेको केन्द्रीय कार्यालयमा भएको कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने समहति भएको हो ।
एमाले स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठबीच पाँचबुँदे सहमति भएको हो । देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गेरे उम्मेदवार उठाउने सहमति भएको छ ।
राप्रपा नेपालले उम्मेदवार नभएका ठाउँहरुमा नेकपा एमालेका उम्मेदवार सघाउने र नेकपा एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने समहति भएको छ । यसैगरी, एमाले र राप्रपा नेपालका जिल्ला कमिटीले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने आ–आफ्नो पार्टी केन्द्रमा उठाउने । केन्द्रीय तहको अनुमतिपश्चात् सहमति कार्यान्वयन हुनेछ ।
त्यस्तै, राप्रपा नेपालका उम्मेदवारले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने । निजहरु निर्वाचित भएपश्चात् पनि राप्रपा नेपालमै आबद्ध रहेन र हस्ताक्षरकर्ताले सहमति कार्यान्वयनका लागि आ–आफ्ना पार्टीको तर्फबाट समन्वय र सहजीकरण गर्ने सहमति भएको छ ।