मेलबर्नबाट महजात्राको अष्ट्रेलिया टूर सकियो, अब न्यूजिल्याण्डमा

मेलबर्नबाट महजात्राको अष्ट्रेलिया टूर सकियो, अब न्यूजिल्याण्डमा


मेलबर्न, अष्ट्रेलिया ।

नेपाली हाँस्यव्यंग्य क्षेत्रमा सबैभन्दा बढी रुचाइएका सम्मानित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफ्नो टोलीका साथ सुरु गरेको महजात्राको अष्ट्रेलिया टूर सम्पन्न भएको छ । अष्ट्रेलियाको पर्थबाट सुरु भएको महजात्रा, क्यानबेरा, सिड्नी, एडिलेड हुँदै मेलबर्नमा शनिबार सम्पन्न भएको हो । करिब ८ सय दर्शकको उपस्थितिमा जब मदनकृष्ण श्रेष्ठ स्टेजमा झुल्किए सम्पूर्ण दर्शकले उभिएर उनलाई सम्मान स्वागत गरेका थिए । प्रतिकूल स्वास्थ्यका बाबजुद स्टेजमा कहिले उभिएर कहिले बसेर आफ्ना गीत, चुट्किला र प्रहसनबाट दर्शकको मनमा रहेको सम्मानलाई एक तह माथि उठाए । हरिवंश आचार्यले एकल प्रहसनमार्फत ममको महिमा भन्दै सामाजिक व्यंग्य पस्किएका थिए भने मदनकृष्ण श्रेष्ठ, किरण केसी र नरेन्द्र कंशाकारका साथ होलबडी चेकअपको माध्यमबाट गतिलो समसामयिक व्यंग्य पस्किए ।

दर्शकहरुलाई कुन्ती मोक्तानका कालजयी गीतहरुले स्वागत गरेको थियो भने केही समय उनका श्रीमान तथा संगीतकार शिलाबहादुर मोक्तानले पनि साथ दिए । किरण केसी रातामकैले पनि गीतमार्फत र प्रहसनमार्फत आफ्नो रातामकैको छापलाई दरिलो बनाएका थिए ।

पछिल्लो समय रवि लामिछानेले कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई पक्राउ गरेको घटनामा दिएको प्रतिक्रियाका कारण सामाजिक सञ्जालमा आलोचना खेपिरहेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई हेर्न आएका दर्शकहरुको प्रतिक्रिया र उपस्थितिले भने फरक दृश्य सञ्चारित गरिरहेको देखिन्थ्यो । अष्ट्रेलियामा उनीहरुप्रति रहेको सम्मान र दर्शकको मायामा कुनै कमी नआएको देख्न पाईन्थ्यो ।

सोलाङचरको निमन्त्रणामा अष्ट्रेलिया र न्यूजिल्याण्डको टूर गरेको महटोलीले अब न्यूजिल्याण्डका दुई शहरमा आफ्नो प्रस्तुति दिनेछन् । १५ जुनमा अकल्याण्डमा र २२ जुनमा क्राईष्टचर्चमा महजात्रा आयोजना हुँदैछ ।

महजात्रा २०२४ का संयोजक नोर्गेन नोर्बुले अष्ट्रेलियाभरिका दर्शकहरुलाई यो साथका लागि धन्यवाद दिएका छन् । केविसीखबरसँग कुरा गर्दै उनले विभिन्न शहरमा कार्यक्रम गर्नका लागि हातेमालो गर्ने आयोजकहरु, विभिन्न व्यवसायिक संस्था सहित दर्शकहरुकै कारण १० वर्षअघि गरिएको महयात्राको सफलता यस पटक पनि दोहोरिएको बताए ।